राजनीति

प्रदेश ५ मा लगानी गर्न आउनुस्, सरकार जिम्मा लिन्छ: मुख्यमन्त्री पोखरेल

सार्वजनिक निजी साझेदारी संवाद कार्यक्रममा सहभागीहरु तस्विरः विनोद/नागरिक

रुपन्देही - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले एक अर्वभन्दा बढी लगानी गर्न निजी क्षेत्र तयार भए पूर्वाधारको जिम्मा सरकारले लिने बताएका छन्। उनले निजी क्षेत्रले एक अर्बभन्दा बढी लागतको कुनै परियोजना सञ्चालन गर्ने प्रस्ताव ल्याएमा प्रदेश सरकारले सडक, विद्युत र आवश्यक पूर्वाधार प्रदेश सरकारले बनाउने बताए।

आगामि वर्ष लगानी सम्मेलनको तयारीमा जुटेको प्रदेश सरकारले सोमबार बुटवलमा प्रदेशका विभिन्न निजी क्षेत्रका उद्योगी व्यवसायी तथा स्थानीय तहका जनप्रतिनिधिको समेत उपस्थितीमा सार्वजनिक निजी साझेदारी संवाद कार्यक्रमलाई सम्बोधन गर्दै  मुख्यमन्त्री पोखरेलले यस्तो कुरा बताएका हुन्। प्रदेश सरकारले परियोजना बैंक बनाएर उनले प्रदेश न. ५ मा कृषि, उद्योग र पर्यटन जस्ता क्षेत्रमा निजी क्षेत्रले लगानी गर्न सक्ने बताए। ‘७ वटा प्रदेशमध्ये उत्पादन र बजारका हिसाबले सबैभन्दा बढी सम्भावना भएको क्षेत्र प्रदेश ५ नै हो’ मुख्यमन्त्री पोखरेलले भने।

उनले अन्य प्रदेशमा संघीयतापछि कर थोपरिएको बिषयले निजी क्षेत्रलाई चिन्तित बनाए पनि प्रदेश ५ मा भने सरकारले लिदैँ आएको कर समेत हटाएर सहज वातावरण बनाउने काम गरेको बताए। उनले तत्कालिन जिविसले लिँदै आएको पटके कर हटाएको र उद्योगी व्यवसायीहरुलाई लगानीको वातावरण बनाउनका लागि पूर्वाधारमा समेत सहुलियत दिएको बताए। उनले प्रदेश ५ का स्थानीय तहले समेत मारमा पर्ने गरी कर नलिएको बताए।

उनले व्यवसायीहरुले नीतिगत रुपमा भोगेका अप्ठ्याराहरुलाई समाधान गर्नका लागि मुख्यमन्त्री कार्यालयको ढोका सदैव खुल्ला रहेको बताए। ‘सम्बन्धित मन्त्रालयमा तपाईहरु जानुस्, त्यहाँबाट पनि सम्बोधन नभए मसँग आउनुस् तपाईहरुको कुरा सुनेर सहज वातावरण बनाउँछौं’उनले भने।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले लगानी सम्मेलनमार्फत लगानीकर्ता भित्र्याउन इच्छुक रहेको भन्दै बजार, पूर्वाधार र सबै हिसाबले लगानीका लागि अनुकुल प्रदेश रहेको बताए। पर्यटन, कृषि र उद्योग जे मा पनि नयाँ खालको परियोजना ल्याएर लगानी गर्न सकिने आधार बनेको उनको भनाई छ। ‘विमानस्थल, भारतीय नाकासँगको सहजताले अनुकुल छ, यसमा प्रदेश सरकारले के गर्नुपर्छ हामी तयार छौं’मुख्यमन्त्रीले भने।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण हुने वित्तिकै यहाँ उत्पादन भएका तरकारी अरब पु¥याउन सकिने उनले बताए।  लगानी बढाएर उत्पादन पनि बढाउने गरि सिमेन्ट उद्योग सञ्चालन गर्न अनुरोध गरे। उनले बुद्ध सर्किटका क्षेत्रहरुमा साँस्कृतिक पर्यटनमा लगानी गर्न सकिने बताए। कुन क्षेत्रमा उद्योग स्थापना गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा पनि निजि क्षेत्रले पहिचान गर्न सक्नुपर्ने उनको भनाई छ।

‘प्राकृतिक हिसाबले जनावहरु हेर्न सकिने दुर्लभ ठाउँ पनि यहि प्रदेशमा छ, बर्दिया राष्ट्रिय निकुञ्ज देशकै नमूना हो’ मुख्यमन्त्री पोखरेलले भने –‘यि क्षेत्रमा पनि लगानी गर्न सकिन्छ।’ उनले प्रदेशका ७ वटा नगरपालिकाले ग्रामिण औद्योगिक क्षेत्र निर्माणका लागि सम्झौता गरेको समेत बताए। प्रदेशको पूर्व पश्चिम राजमार्गभित्र ग्रिन औद्योगिक क्षेत्र निर्माण गर्न सकिने बताए।

वन क्षेत्रभित्र उद्योग स्थापना गर्ने गरि निजि क्षेत्रको साथ प्रदेश सरकारले खोजेको बताए। लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारी, आर्थिक मामिला मन्त्रालयको आयोजनामा गरिएको संवाद कार्यक्रममा प्रादेशिक योजना आयोगका सदस्य डा. विष्णु गौतम, सिप परियोजनाका टिम लिडर बलजित बोहोराले प्रस्तुती राख्दै सरकार र निजि क्षेत्रको साझेदारीबाट प्रदेशको विकास सहज रुपमा गर्न सकिने बताएका थिए। सो अवसरमा निजि क्षेत्रका उद्योगी व्यवसायीहरुले आफूहरुलाई राज्यले संरक्षण र लगानीको वातावरण बनाउन आग्रह गरे। प्रदेश न. ५ सरकारले लगानी सम्मेलनका लागि निजि क्षेत्रसँग पहिलो पटक छलफल गरेको हो।

प्रकाशित: ६ माघ २०७६ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App