राजनीति

राष्ट्रियसभामा १८ पदका लागि ४५ उम्मेदवार

फाइल तस्बिर: नागरिक

प्रदेश ब्युरो

काठमाडौं – राष्ट्रियसभामा फागुन २० देखि रिक्त हुने १८ सिट (सदस्य) का लागि आइतबार ४५ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका सातवटै प्रदेशस्थित कार्यालयमा पुगेर सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएका हुन्। प्रदेश २ मा नेकपा र राजपाले संयुक्त जुलुस निकालेर उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्। मतदान माघ ९ गते सम्बन्धित प्रदेशमा हुनेछ। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ।

विराटनगर संवाददाता राजु अधिकारीका अनुसार प्रदेश १ बाट राष्ट्रियसभामा निर्वाचित हुने तीन सदस्यका लागि सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र समाजवादी पार्टीबाट गरी नौजनाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपाबाट देवेन्द्र दाहाल (झापा), गोपी अछामी (मोरङ) र इन्दु गौतम (सुनसरी), नेपाली कांग्रेसबाट राजेन्द्र घिमिरे (झापा), निरबहादुर विक (पाँचथर) र मीना पुलामी मगर (सुनसरी), समाजवादी पार्टीबाट सदिना खातुन (मोरङ), ज्ञानुकुमार परियार र भरतराज दाहालले उम्मेदवारी दिएका छन्। कांग्रेस र नेकपाका उम्मेदवारले विराटनगरस्थित पार्टी कार्यालयबाट कार्यकर्ताको ¥यालीसहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए। प्रदेश १ बाट राष्ट्रियसभामा रिक्त भएका दलित एक, महिला एक र अन्य एक गरी तीन सदस्यका लागि वीरेन्द्र सभागृहमा मतदान हुनेछ। प्रदेश १ मा ९३ सांसद र एक सय ३७ स्थानीय तहका प्रमुख र उप्रमुखसहित तीन सय ६७ मतदाता छन्।

लहान संवाददाता मिथिलेश यादवका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा नेकपा–राजपा र कांग्रेस–समाजवादी गठबन्धनबाट उम्मेदवारी परेको छ। प्रदेश २ बाट राष्ट्रियसभामा चार सदस्य निर्वाचित हुनेछन्। चार पदका दुई गठबन्धनबाट चारचार गरी आठजनाको उम्मेदवारी दर्ता भएको छ। राजपाले मृगेन्द्रसिंह यादव (अन्य ) र शेखरकुमार सिंहलाई (अल्पसंख्यक) उम्मेदवार बनाएको छ। दुवैजना सप्तरी निवासी हुन्।

नेकपाले महिला समूहबाट तुलसा दाहाल र दलित समूहबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ। दाहाल र पासवान सर्लाही निवासी हुन्। यस्तै कांग्रेसबाट नगिना यादव र भोला पन्जियारले उम्मेदवारी दर्ता गराएका छन्। यादव महोत्तरी र पन्जियार धनुषा निवासी हुन्। समाजवादीबाट सर्लाहीका रामलाल पासवान र सप्तरीका अनिरुद्रसिंह यादवले उम्मेदवारी दर्ता गराएका छन्। अनिरुद्र मृगेन्द्रसिंह यादवका भाइ हुन्। प्रदेश २ मा एक सय सात सांसद र १ सय ३६ स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित तीन सय ७९ मतदाता छन्।

प्रदेश ३ बाट राष्ट्रियसभामा चुनिने दुई सदस्य पदका लागि नेकपा, कांग्रेस र नेपाल मजदुर किसान पार्टीबाट गरी ६ जनाको उम्मेदवारी परेको छ। नेकपाबाट गंंगाकुमारी बेल्बासे र वेदुराम भुसाल, कांग्रेसबाट छलीकुमारी शर्मा उपाध्याय र हरिशरण श्रेष्ठ तथा नेपाल मजदुर किसान पार्टीबाट गीता काफ्ले र कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन्।

पोखरा संवाददाता सन्देश श्रेष्ठका अनुसार गण्डकी प्रदेश (प्रदेश नम्बर ४) बाट राष्ट्रियसभामा निर्वाचित हुने दुई सदस्यका लागि नेकपाबाट दुई, कांग्रेसबाट दुई र राष्ट्रिय जनमोर्चाबाट एक गरी पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपाबाट केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य भगवती न्यौपानेको उम्मेदवारी परेको छ। श्रेष्ठ गोरखा सिरानचोक गाउँपालिका–८ र न्यौपाने तनहुँको भानु नगरपालिका–८ का बासिन्दा हुन्। कांग्रेसबाट सूर्यप्रसाद रेग्मी र विमला गौचनले उम्मेदवारी दर्ता गराएका छन्। रेग्मी स्याङ्जाको वालिङ नगरपालिका–२ र गौचन म्याग्दीको बेनी नगरपालिका–८ निवासी हुन्। राष्ट्रिय जनमोर्चाबाट पोखरा महानगरपालिका–२२ निवासी शंकरप्रसाद बरालको उम्मेदवारी परेको छ।

दाङ संवाददाता देवेन्द्र बस्नेतका अनुसार प्रदेश ५ बाट राष्ट्रियसभामा चुनिने तीन सदस्यका लागि नौजनाको उम्मेदवारी परेको छ। दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, नेकपा, राष्ट्रिय जनमोर्चा र समाजवादी पार्टीका गरी नौजनाले उम्मेदवारी दर्ता गराएको जानकारी जिल्ला निर्वाचन कार्यालयका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए। ‘अन्य’ समूहतर्फ कांग्रेसका बालकृष्ण पाण्डे, नेकपाका गोपाल भट्टराई, राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेल र समाजवादी पार्टीका कृष्णप्रसाद अहिरले उम्मेदवारी दर्ता गराएका छन्। अपांगता तथा अल्पसंख्यकतर्फ नेकपाका जगप्रसाद शर्मा, कांग्रेसका मेराज अहमद हलवाई र समाजवादीका सुनिलकुमार सिंगल र महिलातर्फ नेकपाकी विमला घिमिरे र कांग्रेसकी गिरिजादेवी न्यौपानेको उम्मेदवारी परेको हो। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ५ मा तीन सय पाँच मतदाता छन्। जसमा ८७ सांसद र एक सय नौ स्थानीय तहका प्रमुख र उपप्रमुख छन्।

सुर्खेत संवाददाता गणेश विशुका अनुसार कर्णाली प्रदेश (प्रदेश नम्बर ६) बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुने दुई सदस्यका लागि नेकपा र कांग्रेसबाट दुई–दुईजनाको उम्मेदवारी परेको छ। कांग्रेसबाट डिल्लीराज पाठक र गणेशकुमारी बस्नेत तथा नेकपाबाट मायाप्रसाद शर्मा र सुमित्रा विसीले उम्मेदवारी दर्ता गराएका हुन्।

डोटी संवाददाता अरूण बमका अनुसार सुदूरपश्चिम प्रदेश (प्रदेश नम्बर ७) बाट राष्ट्रियसभामा अन्य (खुला) र महिलातर्फबाट चुनिने दुई सदस्यका लागि चारजनाको उम्मेदवारी परेको छ। नेकपाबाट खुलातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्ट तथा कांग्रेसबाट महिलातर्फ तुलसी देवकोटा र खुलातर्फ प्रताप ठगुन्नाले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २१ पुस २०७६ ०१:४२ सोमबार

राष्ट्रियसभा उम्मेदवारी दर्ता