राजनीति

देश र जनताको सेवामा समर्पित हुन उम्मेद्वार बनेँ : श्रेष्ठ

पोखरा – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले देश र जनताको सेवा गर्नका लागि आफूले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएको बताएका छन्। राष्ट्रिय सभा सदस्यका लागि उम्मेद्वारी दिएलगत्तै प्रेस संगठन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टीको निर्णय अनुसार आफू उम्मेदवार बनेको बताएका हुन्। राजनीति देश र जनताको सेवाका लागि गरिन्छ,‘ उनले भने, ‘त्यो अहिले पनि गरिराखिएकै छ, तर जिम्मेवारी नै लिएर गर्दा झन् प्रभावकारी हुन्छ भन्ने लागेकाले उम्मेदवार बन्ने निर्णय गरेको हुँ।’ सरकार आर्थिक क्रान्तिलाई निर्णायक बनाउँदै समृद्धीको यात्रामा फड्को मार्न अगाडि बढेको तथा समाजवादको आधार तयार पार्दै सामाजिक न्यायसहितको आर्थिक क्रान्ति गर्ने दिशामा अगाडि बढेकाले त्यसलाई सफल बनाउन सहयोग गर्न र इँट्टा थप्नका लागि आफू उम्मेदवार बनेको स्पष्ट पारे।

श्रेष्ठले आफूले संघीय संसद् र राष्ट्रियसभा सदस्यको उम्मेदवार नहुने नभनेको स्पष्ट पारे। हुँदै नभएको कुरा नारायणकाजीको बाचा भनेर पत्रकार साथीहरूले भन्दिनुभएन, ‘उनले भने, ‘मैले ५ वर्ष संघीय संसद्को सदस्य बन्दिन भनेको छैन। राष्ट्रिय सभामापनि जान्न कहिल्यै भनेको छैन। त्यसको अर्थ मैले जान्छु पनि भनेको थिइन । मैले त्यतिबेला भनेको चाहिँ के हो भने प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएँ। प्र्रतिनिधिसभा सदस्यमा पराजित भएँ, यो ५ वर्ष प्रतिनिधिसभाको सदस्यमा उपनिर्वाचन नै भए पनि वा अन्य केही भए पनि उम्मेदवार बन्दिन भनेको हुँ।’ उनले आफूले गरेको बाचामा अहिले पनि प्र्रतिबद्ध रहेको दोहो-याए। श्रेष्ठले नेकपा ५ वटा मुख्य कुरामा केन्द्रित रहेको बताए। नेकपा अहिले सांगठनिक काममा केन्द्र्रित रहेको र त्यो अन्तिम चरणमा पुगेकाले यसलाई केही दिनभित्रै सक्ने उनले बताए।

प्रकाशित: २१ पुस २०७६ ०१:३० सोमबार

नारायणकाजी_श्रेष्ठ राष्ट्रियसभा_सदस्य उम्मेदवारी