राजनीति

उखु किसानलाई भुक्तानी दिन प्रदेश ५ का उपनेता कनोडियालाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको प्रदेश नम्बर ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको भूक्तानी गर्न निर्देशन दिएको छ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको भूक्तानी तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कनोडिया सञ्चालक रहेको मिल उखु किसानको भूक्तानी नदिएको समाचारका सन्दर्भमा पार्टीको ध्यानकर्षण भन्दै यथाशिघ्र भुक्तानी गराउन निर्देशन दिएको बताए। कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक हुन।

त्यस्तै नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने संकेत पनि दिएको छ। प्रवक्ता शर्माले सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरुको भेटघाट भएको र राष्ट्रियसभामा तालमेल हुन सक्ने बताए।

केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको राष्ट्रियसभा निर्वाचन सम्बन्धि प्रस्ताव पारित भएपछि उक्त कुरा टुंगो लाग्ने उनले बताए।

बैठकमा उम्मेदवार चयनका लागि पदाधिकारी बैठकलाई अधिकार दिने प्रस्ताव गरिएको शर्माले बताए। उनले समाजवादीसँग तालमेलको ढोका खुलेको र शुक्रबारसम्ममा निर्णय हुने सम्भावना रहेको बताए।

पार्टीभित्र रहेको आन्तरिक किचलो धेरै दिन नरहने उनको दाबी छ। पार्टीभित्र देखिएका विमतिहरु थाति राखेर भएपनि राष्ट्रियसभा निर्वाचनमा एक भएर जाने वातावरण सिर्जना हुने विश्वास प्रवक्ता शर्माले व्यक्त गरे। 

प्रकाशित: १७ पुस २०७६ १२:३४ बिहीबार

कांग्रेस निर्देशन