राजनीति

एमसिसी कम्प्याक्ट लागु गर्न गंभीर हुन आग्रह

नागरिक – संयुक्त राज्य अमेरिकाले नेपाललाई उपलव्ध गराउन लागेको ५६ अर्ब रुपैयाँ अनुदानको एमसिसी परियोजना अगाढी बढाउन संसदले यथाशीघ्र अनुमोदन गर्नु पर्ने माग अमेरिकास्थित युएस नेपाल पोलिसी रिसर्च सेन्टरले गरेको छ।

‘यो योजना कार्यान्वयनका लागि सरकार, संसद् र राजनेतालाई गम्भीर र इमान्दार हुन हामी आग्रह गर्न चाहन्छौं, अमेरिकास्थित उक्त संस्थाद्वारा बिहीबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ। यो परियोजना कार्यान्वयनसँग सरकारको विश्वसनीयता जोडिएको छ र राष्ट्रिय पूर्वाधार विकासमा दलीय राजनीतिकरण गर्दा नेपालको अन्तराष्ट्रिय छबिसमेत बिग्रने भएकाले हामी यस कुरामा सजग रहन अनुरोध गर्दछाैं,’ विज्ञप्तीमा भनिएको छ।

मिसौरी कन्सास विश्वविद्यालयका समाजशास्त्री डा. राजन पन्त संस्थाको अध्यक्ष रहेका छन् भने अरिजोना वेष्टर्न कलेजका रसायनशास्त्रका प्रोफेसर डा. सुमन पराजुली कार्यकारी सचिव रहेका छन्। अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने ५० जना भन्दा बढी प्राज्ञिक तथा व्यवसायिक सदस्य रहेको सो संस्थाको कार्यसमितिमा ९ जना सदस्य रहेका छन्।

प्रकाशित: ११ पुस २०७६ ०१:४५ शुक्रबार

एमसिसी परियोजना