राजनीति

जनप्रतिनिधि र कर्मचारीबीच बढ्दै दुरी

आक्रमणबाट घाइते निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर ओली। तस्बिरः नागरिक

वीरेन्द्रनगर- गत जेठ १८ गते रुकुम पश्चिमको आठवीसकोट नगरपालिकाका इन्जिनियर ठगेन्द्र चन्दलाई ८ नम्बरका वडाध्यक्ष मानबहादुर चदाराले कुटपिट गरे। रकम भुक्तानीको विषयमा भएको विवादपछि वडाध्यक्ष चदाराले कुटपिट गरेका थिए।

फेरी सोही नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर ओली कुटिएका छन्।
३ नम्बर वडाका वडाध्यक्ष केशरमान विकका भाई गोपालले केसीलाई आक्रमण गरेका हुन्। वडाध्यक्ष केशरमानको योजनामा गोपालले आक्रमण गरेको आठवीसकोट नगरपालिकाका कर्मचारीले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

जनप्रतिनिधिले कर्मचारी कुट्न थालेपछि सुरक्षित भएर काम गर्ने वातावरण नभएको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ। यति मात्र होइन स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीचको दुरी देखिन्छ। जनप्रतिनिधिले जनताबाट निर्वाचित भएको र कर्मचारीले अध्ययन गरेर आएको भन्ने अहमताले यी दुईबीच दुरी बढ्दो छ। कतिपय स्थानीय तहमा जनप्रतिनिधिले आफू अनुकूल कर्मचारीसमेत फेरबदल गर्ने गरेका छन्।

गैरकानुनी रकम भुक्तानी, विधिभन्दा फरक ढंगले काम गर्न खोज्दा पनि जनप्रतिनिधि र कर्मचारीबीच दुरी बढ्दो छ। जनप्रतिनिधिले कर्मचारीलाई अनावश्यक दबाव दिने गरेको र कर्मचारीले जनप्रतिनिधिले गर्न खोजेका काम ढिला गरिदिने गरेको आरोप एकअर्काको छ।

जनप्रतिनिधिहरूबाट अनावश्यक दबाव आउँदा दैनिक कार्य सम्पादनमा असहज महशुस हुने कर्मचारीहरू बताउँछन्। स्थानीय तहको चुनाव भएको दुई वर्षभन्दा बढी हुँदा पनि जनप्रतिनिधि र कर्मचारीबीचको दुरी घट्न सकेको छैन, जसले स्थानीय तहमा अपेक्षाभन्दा कम काम भएको देखिन्छ। विनियोजित बजेट खर्च हुन नसक्नुको कारण यो पनि भएको अधिवक्ता दुर्गा सापकोटाको भनाइ छ। एकअर्काले अस्तित्व नस्वीकार्दासम्म जनप्रतिनिधि र कर्मचारीबीचको दुरी रही रहने उनको भनाइ छ।

केही जनप्रतिनिधिहरू राजनीतिक धरातलभन्दा फरक धरातलबाट आएकाले पनि जनप्रतिनिधि र कर्मचारीबीच दुरी रहेको आठवीसकोट नगरपालिकाका मेयर गोरख केसीले बताए। राजनीतिक धरातलबाट आएकालाई चुनावमा टिकट दिनु गलत भएको भन्दै आगामी दिनमा यसलाई सच्याउने उनको भनाइ छ। गलत धरातलबाट आएका जनप्रतिनिधिले कहिलेकसो पुरानै हर्क दोहोर्‍याउँदा कहिलेकाँहि झडपको स्थिति बन्न जाने मेयर केसीले बताए।

‘ढुंगा हान्ने, मान्छे कुट्ने जनप्रतिनिधिले सबैलाई धुमिलो बनाएका छन्,’ उनले भने, ‘अब यस्तो पुनः दोहोरिए निलम्बनसमेत गर्न सक्ने व्यवस्था गर्छाैं।’ नगरमा गतिमा गएको काममा केही जनप्रतिनिधि र कर्मचारीको द्वन्द्वले केही असर नगर्ने भन्दै उनले थप मेहेनत गरेर काम गर्ने बताए।

 

प्रकाशित: ४ पुस २०७६ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App