राजनीति

संविधान संशोधनको सहमति कार्यान्वयन गर्ने बेला आएको छः कानूनमन्त्री यादव

सिंहदरबारमा सोमबार उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव मन्त्रालयमा पदभार ग्रहण गर्दै। तस्बिरः रासस

काठमाडौं– नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधनको सहमति कार्यान्यन गर्ने समय आएको बताएका छन्।

सोमबार पदभार ग्रहण पछि बोल्दै दलहरुले दुई वर्ष अगाडि गरेको सहमतिलाई कार्यान्वयन गर्ने बताएका हु्न्।

‘संविधान संशोधन गर्ने सहमतीमा दुई वर्ष अघि नै हस्ताक्षर भएको हो’ उपप्रधानमन्त्री समेत रहेका यादवले भने ‘अब कार्यान्वयनको समय आएको छ।’

उनले मन्त्री फेरवदलको अधिकार प्रधानमन्त्रीलाई भएको भन्दै आफुलाई परिपक्क मन्त्री बनाउन मन्त्रालय परिवर्तन गराएको हुनसक्ने भन्दै हाँसो गरे।

‘मन्त्री हेरफेर प्रधानमन्त्रीको अधिकार हो, अनुभवी नेता बनोस भनेर आफुलाई मिल्ने मन्त्रालय दिएको पनि हुनसक्छ’ उनले भने ‘मलाई प्रधानमन्त्रीले माया गरेको पनी हुनसक्छ।’

उनले पुरान प्रणाली अनुसार निर्माण गरिएका कानून समय सापेक्ष परिमार्जन गर्न बाँकी रहेको बताए। ‘कानूनमा आवश्यक सुधार गर्दै लौजाने छौं’ मन्त्री यादवले भने,‘भविष्यमा मार्गदर्शन गर्न सक्ने कानूनको महत्वपूर्ण जिम्मेवारी बाँकी छन्।’

मन्त्री यादव आफ्नो दल समाजवादी पार्टीसँग परार्मश नगरी जिम्मेवारी हेरफेरप्रति असन्तुष्टी जनाउँदै आएका थिए। विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्री ओलीले बुधबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोज्दै यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए।

त्यसप्रति असन्तुष्ट यादव आइतबार नयाँ मन्त्रालयको जिम्मेवारी नसम्हाली पोखरा पुगेका थिए। तर, अपराह्न उनी पदभार सम्हाल्न मन्त्रालय आईपुगेका थिए।

 

प्रकाशित: ९ मंसिर २०७६ १२:१९ सोमबार

कानून_न्याय उपेन्द्र_यादव संविधान_संशोधन