राजनीति

महराको नैतिक गल्ती : दाहाल

दाङ – बुधवार दाङ आएका नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कपाका अध्यक्ष पुष्पकमल दाहालले महरा प्रकरणबारे पहिलोपटक मुख खोलेका छन्। उनले महराले गल्ती गरेको उल्लेख गर्दै भने, ‘महराजीको आपराधिक गल्ती भने हैन, नैतिक खालको गल्ती, आचारसँग सम्बन्धित गल्ती हो भन्ने देखिइसकेको छ।,’ प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार सम्मेलनमा दाहालले यो प्रकरणमा महरा दोषी रहेको दाबी हुनाले गल्तीको सजाय पाउनुपर्ने पनि उल्लेख गरे।

उनले महराको नैतिक गल्तीको प्रकरण आफूलाई ढाँटेका कारण झनै जटिल बनेको प्रतिक्रिया दिए। ‘उहाँले मोरल गल्ती गर्नु भएकै थियो, मलाई ढाँट्नु अँझ अर्को ठूलो गल्ती गर्नुभयो,’ उनले भने, ‘उहाँको यो कदमले उहाँमाथिको स्थिति झनै जटिल बन्न गएको साँचो हो।’

यो प्रकरण सार्वजनिक भएपछि दाहालले सुरुमा आफूले नै महराप्रति चासो राखेको बताए। यो प्रकरणबारे समाचार बाहिरिएपछि महरासँग सोधपुछ गर्न पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई आफूले पठाएको र त्यो बेला महराले झूटो बोलेको दाहालको भनाइछ।
लगत्तै प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर आफू स्वयं महरालाई भेट्न पुगेको उनले खुलाए। तर आँफूसँग पनि साँचो कुरा भन्न नमानेको बताए। ‘मैले जे हो त्यो भन्नुस्, चिजहरू बडो जटिल तरिकाले आएको छ भनेर उहाँलाई यथार्थ बताउन भने,’ दाहालले भने, ‘यद्यपि उहाँले साँचो कुरा त्यहाँ पनि सुरुमा बताउन मान्नुभएन।’

महरा प्रकरण अहिले न्यायिक छानबिनका क्रममा रहेकाले अदालते महरा प्रकरणलाई नैतिक मान्यताअनुसार स्वच्छ निष्पक्ष निर्णय गर्नेमा दाहालले आशा व्यक्त गरे। साथै महराले पनि आफ्नो गल्ती स्वीकार गरेर गल्ती अनुसारको कारबाही हुनु आफ्ना लागि मात्रै नभई राष्ट्रकै शुसासनका लागि आवश्यक छ भन्ने महसुस गर्नु पर्ने दाहालको भनाइ छ। ‘उहाँमाथि जति हुनुपर्ने हो, त्यति नै होओस्, उहाँमाथि कुनै पूर्वाग्रह नहोओस्,’ दाहालले भने, ‘र महराजिले पनि आफ्नो गल्ती स्विकारेर आफूमाथिको कारबाही राष्ट्रकै शुसासनको उदाहरणका रूपमा लिनुपर्छ।’

एक अर्कोप्रसँगमा दाहालले भारतले लिपुलेकलाई आफ्नो क्षेत्रमा राखेर नक्सा सार्वजनिक गरेकोप्रति असन्तुष्टि जनाए। साथै वर्तमान सरकारले पनि यो विषयलाई गम्भीर रूपले लिने बताए। ‘मैले पनि भारतले सार्वजनिक गरेको भनिएको नक्साका बारेमा सबै बुझ्न पाएको छैन,’ दाहालले भने,’ तर भारतले नेपालको भूमिलाई नै आफ्नो क्षेत्रमा राख्न पाउँदैन।’ सरकारले समेत यसलाई गम्भीर रूपले लिँदै भारतसँग कूटनीतिक तबरबाट कुरा अघि बढाउने प्रक्रियामा सरकार जुटिसकेको आफूले थाहा पाएको पनि दाहालले बताए।

प्रकाशित: २१ कार्तिक २०७६ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App