राजनीति

नेपालको जेलभित्र छुट्टै सत्ता छः गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री राम बहादुर थापा बादलले नेपालका जेलभित्र निरंकुशतन्त्र जस्तै अर्को सत्ता रहेको खुलासा गरेका छन्। 

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री थापाले नेपालको जेलभित्र छुट्टै सत्ता रहेको बताएका हुन्। समितिले केही समय अघि नेपालका जेल तथा हिरासत कक्षको स्थलगत अनुगमन गरेपछि गृहमन्त्री गृहसचिव महान्यायधिवक्ता लगायतलाई छलफलको लागि बोलाएको थियो। समितिमा सांसद पम्फा भुसाल र डिला संग्रौलाले जेलको कडा सुरक्षाको घेराभित्र पनि अर्को सत्ता रहेको भन्दै मन्त्रीसँग वास्तविकता के हो भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले नेपालका जेलभित्र निरंकुश सत्ता रहेको स्विकारेका हुन्। 

सांसदहरुले जेल भित्रका नाइके, भाइ नाइके जस्ता कैदीले अलग्गै सत्ता चलाएको र जेलको सुरक्षामा खटिने प्रहरी समेत निरिह बनेको बताएका थिए। सांसदको जिज्ञासामा मन्त्री थापाले जेलभित्रको आन्तरिक प्रशासनलाई लोकतान्त्रिक बनाउन सरकारले प्रयास थालेको बताए। 

राज्य ब्यबस्था तथा सुशासन समितिले सभापति शशि श्रेष्ठको नेतृत्वमा देश भित्रका प्रमुख जेल तथा बन्दी गृह र हिरासत कक्षको स्थलगत अनुगमन गरेको थियो। समितिले अनुगमन पछि नेपाल सरकारलाई जेल तथा बन्दी गृह र हिरासत कक्षको सुधारको लागि विभिन्न २८ बुँदामा निर्देशन दिने तयारी गरेको छ।

प्रकाशित: २० कार्तिक २०७६ १२:४२ बुधबार

गृहमन्त्री रामबहादुर_थापा जेल निरंकुशतन्त्र