राजनीति

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचार आदानप्रदान सम्झौता हुँदै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच भ्रातृत्व सम्झौता हुने भएको छ। दुई कम्युनिस्ट पार्टीको स्कुल विभागले सोमबारबाट संयुक्त रूपमा आयोजना गर्न लागेको दुई दिने विचार गोष्ठीको अन्तिम दिन भाइचारा सम्बन्ध निरन्तरता दिन भ्रातृत्व सम्बन्ध सम्झौता हुने भएको हो। चिनियाँ राष्ट्रपतिको सी चिनफिङको भ्रमण पूर्वसन्ध्यामा हुन लागेको विचार गोष्ठीमा दुई देशका कम्युनिस्ट पार्टीको नीति सिद्धान्त, विचार र कार्यक्रमबारे छलफल हुने क्रममा दुईपार्टी बीच भ्रातृत्व सम्बन्ध कायम गर्नेगरी सम्झौता हुन लागेको हो।

मंगलबार नेपालका तर्फबाट पूर्वप्रधानमन्त्री तथा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश प्रमुख सङ टाओले हस्ताक्षर गर्नेछन्। नेकपाका स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले सधंै भएजस्तै औपचारिक भ्रातृत्व सम्बन्ध कायम हुनेगरी सम्झौता हुन लागेको जानकारी दिए। ‘सामान्य विषय हो। दुई देशका कम्युनिस्ट पार्टीबीच भ्रातृत्व सम्बन्ध कायम हुनेगरी सम्झौता हँुदैछ। यो यसअघिको निरन्तरता मात्रै हो,’ स्कूल विभागका उपप्रमुख पौडेलले भने।

त्यसैगरी, सो सम्झौतामा मैत्रीपूर्ण हुने, विचार, सिद्धान्त र निती आदानप्रदान हुने नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। ‘यो सम्झौतापछि दुई पार्टीको सम्बन्ध अझ प्रगाढ हुनेछ, विचार आदानप्रदान हुनेछन्, नीति सिद्धान्तका विषयमा भरमग्दुर छलफल हुनेछन्,’ विदेश विभागका उपप्रमुख रिजालले भने। उनका अनुसार यो सम्बन्ध सम्झौतापछि दुई देशका नागरिक र पार्टी कार्यकर्ताको भ्रमण आदानप्रदानसमेत हुनेछन् भने पार्टी निर्माण र विकास निर्माणका अनुभव पनि आदानप्रदान हुनेछन्।

‘कार्यक्रमको संयोजन मात्रै नेपालबाट भएको छ। कार्यक्रममा पार्टीका एकतिहाइ केन्द्रीय सदस्य र बुद्धिजीवीसहित गरी करिब २ सय ५० जना मात्रै सहभागी हुनेछन्। होटल याक एण्ड यतिमा सोमबार साँझ ५ बजे सो कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गर्नेछन्। उद्घाटन सत्र सकिएपछि चिनियाँ नेताहरूले सहज जीवनयापन र समाज निर्माण, सम्बन्ध सुधारका गहिराइ, बिआरईले विश्व मानवजातिमा पार्ने प्रभाव, पार्टी अनुसासनको पालाना सम्बन्धमा प्रशिक्षण दिने स्कुल विभागले जनाएको छ। विभागले छनोट गरेका एक सय ४० जना केन्द्रीय सदस्य मात्रै सो प्रशिक्षणमा सहभागी हुन पाउनेछन्।

सहज जीवनयापन र समाज निर्माणबारे हुँ झाओ मिङ, पार्टी अनुशासनको पालानाबारे झू नन पेङ, सम्बन्ध सुधारका गहिराइबारे क्वीन ग्यान र बिआरआईले विश्व मानजातिमा पार्ने प्रभावबारे सी यू लोङले प्रशिक्षण दिनेछन्। उनीहरूको प्रस्तुति सकिएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले समापन गर्नेछन्। समग्रमा यो कार्यक्रम १३ घण्टामा सकिने कार्यतालिका बनाइएको छ। कार्यक्रममा नेपालबाट नेकपाका स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले अध्यक्षता गर्नेछन् भने सञ्चालन उपप्रमुख देवेन्द्र पौडेलले गर्नेछन्। चिनियाँ कम्युनिस्ट पार्टीको स्कुल विभागको तर्फबाट म झू सोङ र हु झओ मिङले कार्डिनेसन गर्नेछन्।

शनिबार बसेको नेकपाको सचिवालय बैठकले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सफल बनाउनेगरी यो कार्यक्रम आयोजना भएकाले यसलाई पार्टी पंक्तिनै लागेर सफल बनाउनु पर्ने निर्णय गरेको थियो। नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त कार्यक्रम नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो। नेकपाको स्कूल विभागको पहलमा सो कार्यक्रम हुन लागेकाले पनि त्यसको तयारी राम्रोसँग गर्नुपर्ने र त्यही कार्यक्रमपछि चिनियाँ राष्ट्रपतिको भ्रमण असोजको अन्तिममा हुने जनाएको छ।
यसैबीच, दुई पार्टीको कार्यक्रम आयोजनाको पूर्व्सन्ध्यामा गृहमन्त्री रामबहादुर थापासँग चिनियाँ राजदूत हाउ यान्छीले भेटघाट गरेकी छिन्। गृह मन्त्रालयमा पुगेर उनले भेटघाट गरेकी हुन। राजदूत यान्छीले आइतबार मन्त्रालयमा भेटघाट गरी राष्ट्रपति सीको भ्रमणका बेला सुरक्षा अवस्थाबारे छलपल गरेकी थिइन्।

प्रकाशित: ६ आश्विन २०७६ ०२:५२ सोमबार

नेपाल_कम्युनिस्ट_पार्टी चिनियाँ_कम्युनिस्ट_पार्टी