राजनीति

ओलीले एकाएक मिलाए विवाद

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिंगापुर यात्राबाट फर्केलगत्तै एकाएक पार्टी केन्द्रीय विभागहरूको जिम्मेवारी बाँडफाँट टुंग्याएका छन्। यससँगै दलभित्र आफूविरुद्ध देखिएको वातावरण साम्य पार्न उनी सफल भएका छन्।

जिम्मेवारी बाँडफाँटबाट सबैभन्दा बढ्ता लाभ भने नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई भएको छ। उनले पार्टी संगठन विभाग, किसान महासंघमात्र होइन, विधानमै नभएको उपाध्यक्ष पदसमेत पाउने भएका छन्।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन्। सचिवालय बैठकले शुक्रबार स्थायी कमिटीमा लैजानेगरी उपाध्यक्ष बनाउने प्रस्ताव पास गरेको हो। गौतमलाई उपाध्यक्ष बनाउने निर्णय नेकपा स्थायी समितिले पारित गर्नुपर्छ। नेकपामा ओली र दाहाल अध्यक्ष तथा विष्णु पौडेल महासचिव छन् भने उपाध्यक्षमा गौतमलाई लैजान लागिएको हो। तत्कालीन नेकपा एमाले कालमा पार्टी महासचिव माधवकुमार नेपाल सरकारमा गएका बेला गौतमलाई विधानमै नभएको उपमहासचिव पदमा पु¥याइएको थियो। सरकारबाट फर्केपछि उनलाई उक्त पदबाट हटाइँदा पार्टीभित्र विवाद चुलिएको थियो।

जिम्मेवारी बाँडफाँटबाट सबैभन्दा बढ्ता लाभ भने नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई भएको छ। उनले पार्टी संगठन विभाग, किसान महासंघमात्र होइन, विधानमै नभएको उपाध्यक्ष पदसमेत पाउने भएका छन्।

शुक्रबार बसेको सचिवालय बैठकले नेकपाका ३३ विभागको नेतृत्व टुंगो लगाएको छ। ३३ मध्ये १९ विभागमा पूर्वएमाले नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन्। लामो रस्साकस्सीपछि स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाएका छन। सचिवालय सदस्य माधवकुमार नेपाल विदेश विभाग प्रमुख बनेका छन् भने राम कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ। नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाएका छन। त्यस्तै नेता गौतमलाई संगठन विभाग प्रमुख बनाइएको छ। पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले प्रचार विभागको जिम्मा पाएका छन् भने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थ तथा योजना प्रमुख बनाइएको छ।

स्कुल विभागमा विवाद भएपछि सचिवालय बैठक अवरुद्ध भएको थियो। पछिल्लो समय ओली र गौतम नजिकिएपछि पूर्व माओवादी पक्षधरलाई मिलाउन गौतमले भूमिका खेलेको बताइन्छ। यसैको परिणाम ओलीले गौतमलाई पार्टीभित्र विशेष महत्व दिएका हुन्।
विमानस्थलमा वामदेव

प्रधानमन्त्री ओली स्वास्थ्यउपचार गरी स्वदेश फर्कंदा सचिवालय सदस्य वामेदव गौतम स्वागतका लागि विमानस्थल पुगेर सबैलाई ‘अचम्म’ मा पारे। स्वास्थ्यलाभ गरी स्वदेश फर्केका प्रधानमन्त्री ओलीको स्वागतका लागि सांसदसमेत नरहेका गौतम अचानक विमानस्थल पुग्नुलाई उनीहरु नजिकिएको रुपमा अथ्र्याउन थालियो।

साथसाथै सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र पार्टी महासचिव विष्णु पौडेल प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल पुग्नु स्वाभाविकै थियो। त्यसक्रममा पार्टी सचिवालय सदस्य गौतम पनि पुगे। उनी स्वागतका निम्ति जाने कुरा कसैलाई थाहै थिएन।

उनले त्यहाँ पुगेकालाई मात्रै होइन, स्वदेश फर्केर आएका ओलीलाई समेत अचम्भित तुल्याएका थिए। गौतम विमानस्थल पुग्दा उनीहरु आपसमा मुखामुख गरेका भए पनि गौतमले त्यसलाई बेवास्ता गरे। ओली स्वदेश फर्केलगत्तै गौतमसँग ‘रात्रीभोज बैठक’ भएको थियो। त्यसक्रममा ओलीले स्कुल विभागमा पूर्व माओवादीहरुले गरेको दाबीलाई मिलाउन गौतमलाई जिम्मा दिएका थिए। त्यसको दोस्रो दिनमै अर्का अध्यक्ष दाहाल लचिलो बन्न तयार भएपछि विभागीय प्रमुख टुंग्याउन दुई दिन लागेको थियो।

गत पुसमा सम्पन्न स्थायी कमिटीको बैठकमा गौतमले फरक मत राखेपछि ओलीसँग उनको सम्बन्धमा खटपट आयो। त्यसयताका सचिवालय बैठकमा पनि गौतमले ओलीलाई साथ दिएनन्। पार्टी एकीकरण अन्तिम चरणसम्म पुग्दा पनि साथ नदिएका गौतम पछिल्लो समय ओलीको प्रमुख सल्लाहकारकै रुपमा देखा परे।

असार अन्तिम साताबाट सम्बन्धमा सुधार आएपछि भने गौतम बेरोकतोक बालुवाटार छिर्ने गरेका छन्। गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए। त्यसयता पार्टी एकता प्रक्रियासमेत अन्तिम चरणमा पुगेका बेला सचिवालय सदस्य गौतमसँग प्रधानमन्त्री ओलीको निरन्तर संवाद भइरहेको छ।

केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट अघि बढाउँदा पनि ओलीले गौतमसँग छलफल गर्ने गरेका छन्। ओलीले पूर्वएमालेको भागमा परेको विभागीय प्रमुखहरुको जिम्मेवारीबारे समेत छलफल गरेका थिए। त्यसक्रममा ओलीले गौतमलाई संगठन विभागको प्रस्ताव गरे। संगठन विभागको प्रस्ताव गरेपछि उत्साहित हुँदै गौतम ओलीनिकट भएका थिए। गौतमलाई संगठन विभागको जिम्मेवारी दिने विषयमा सचिवालयका सबै नेता सहमत भएपछि ओलीले बालुवाटामै बोलाएर जिम्मेवारी लिइदिन आग्रह गरेका थिए।

किसान महासंघको अध्यक्षसमेत रहेका गौतमले त्यसमा पूर्व माओवादीहरुलाई पनि बराबरी जिम्मेवारी दिनु र पार्टीका अर्का अध्यक्ष दाहालसँग समेत राम्रो सम्बन्ध रहेका कारण संगठन विभाग प्रमुख बनाउन सहमति मिलेको थियो। पछिल्लो पटक गौतमकै आग्रहमा स्कुल विभागमा समेत दाहालले पोखरेललाई प्रमुख बनाउन तयार भएका थिए।

प्रकाशित: ३२ श्रावण २०७६ ००:४३ शनिबार

केपी_शर्मा_ओली नेकपा विभाग_बाँडफाँट