राजनीति

क्रान्तिकारी माओवादीद्वारा जमिन कब्जा, दुई जना पक्राउ

हरैयास्थित जमिन कब्जा गर्दै वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का नेता–कार्यकर्ता। तस्बिर: नागरिक

हरैया (कैलाली) - १० दिनसम्म ‘बाउन्सर’ लगाएर सुकुमबासीका टहरा तोडफोड गरिएको गोदावरी नगरपालिका–६, हरैयास्थित जमिनमा वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले झन्डा गाडेर कब्जा गरेका छन्।  उठीबास बनाइएका सीलाई पुनस्र्थापित गर्न हरैयाको जग्गा कब्जा गरेको वैद्य नेतृत्वको पार्टीका नेताहरूले बताएका छन्।

‘गरिब असहाय सुकुमबासीलाई गुन्डाहरू लगाएर उठीबास गराइएकोले उनीहरूलाई पुनस्र्थापित गर्नका लागि आफूहरूको प्रदेश कमिटीको बैठकको निर्णयअनुसार हरैयाको जमिन कब्जा गरिएको हो,’ अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउदले भने, ‘हरैयामा बसेका सुकुमबासीलाई हटाउन ठूलो आर्थिक चलखेल गरी गुन्डा लगाएर उठाइएकाले गरिब जनताको अधिकार र न्यायका लागि जमिनमा झन्डा गाडेका हौँ। ’ उनले १० दिनसम्म गुन्डाहरू लगाएर गरिब सुकुमबासी बस्तीमा तोडफोड, कुटपिट र आगजनी हुँदा मुकदर्शक बन्ने प्रहरी–प्रशासन सुकुमबासीलाई पुनस्र्थापित गर्न अघि बढेका नेता–कार्यकर्तालाई थुन्ने÷झुटा मुद्दा लगाउने हर्कत गरिरहेको आराोप लगाए।  ‘अहिले कमजोर भए पनि गरिब जनताका पक्षमा न्यायका लागि हरैया जमिनमा सुकुमबासी पुनस्र्थापित गर्ने मुद्दा जारी राख्ने छौं,’ उनले भने।

हरैयामा एक बिघा सात कठ्ठा चार धुर जमिन ऐलानी छ।  ऐलानी जमिनमा बसेका सुकुमबासीका घर ‘गुन्डा’ लगाएर भत्काइएको थियो।  ‘यो ऐलानी जमिनमा हरैयाका सबै सुकुमबासीलाई व्यवस्थापन गर्न सकिन्थ्यो,’ प्रहरीले हिरासतमा लिनुअघि किसान नेता टंक कोइरालाले भने, ‘यो ऐलानी जमिन पनि कब्जा गर्न सुकुमबासीका घर–टहरा भत्काएर हटाइयो। ’ कोइराला वैद्यनिकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक हुन्।  कोइरालासँगै हरैया जमिन कब्जा गरेको भन्दै कैलाली प्रहरीले गोदावरी नगरपालिका–६ का नन्दे आउजीलाई पनि पक्राउ गरेको छ।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीप गिरीले हरैयाको जमिन वैद्य नेतृत्वको पार्टीले झन्डा गाडेको बताए।  उनले भने, ‘वैद्यनिकट पार्टीका कार्यकर्ताले झन्डा गाडेर जमिन कब्जा गरेको भनेका छन्।  उनीहरूले कब्जा गरेको भनेपछि साो जमिन के गर्ने भनेर छलफल भइरहेको छ। ’ कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जमिन कब्जा गरेको बारेमा आफूलाई लिखित जानकारी अहिलेसम्म कहींबाट नआएको बताए।

गत असार २६ गतेदेखि साउन पहिलो हप्तासम्म कैलालीको हरैया सिविरमा बसेका सुकुमबासीलाई धम्काउने, घर भत्काउने, तोडफोड गर्दै आएका भाडाका ‘बाउन्सर’हरूले ऐलानी जमिनमा बसेका सुकुमबासीलाई पनि लखेटेका थिए।

२०६१ सालमा बसालिएका सुकुमबासीलाई राज्यले वैकल्पिक व्यवस्था नगरिकन गुन्डा लगाएर घरै भत्काउनु, आगो लगाउनु र कुटपिट गरिएको सहन नसकेर आफूहरूले जमिन कब्जामा लिएको वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले बताए।  उनले भने, ‘खाली गराइएको शिविर कब्जा गर्दै फेरि पुरानै सुकुमबासी परिवारलाई बसाउने योजना छ। ’ भूमाफिया, दलाल र केही पार्टीका नेताहरूकै संग्लनतामा द्वन्द्वकालमा बसाइएका सुकुमबासीलाई हटाइएको भन्दै वैद्य माओवादीले बुधबार बेलुकीमात्रै शिविर पुनः कब्जा गरेको जनाएको छ।

हरैयामा एक बिघा सात कठ्ठा सवा चार धुर ऐलानी जमिनमा बनाइएका सुकुमबासीका घरहरू भत्काइएका थिए।  आफ्नो लालपुर्जा भएको जमिनमा बसेकाहरूलाई हटाउन पाउनुपर्ने बताउँदै आएका पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालकले परिचालन गरेका बाउन्सरले ऐलानी जमिनमा बस्दै आएका सुकुमबासीलाईसमेत हटाएका थिए।

उद्योगपति रणबहादुर शाहबाट कित्ता नम्बर १६७, १६८, १६९, १७०, १७१, १०, २२, २३, २४, २०३, ३७० र ५०० को २३ बिघा पाँच धुर जमिन हाउजिङ प्रालिले खरिद गरे पनि त्योसँगै सटेको सिट नम्बर ०२७–०४१० को कित्ता नम्बर ३ को एक बिघा सात कट्ठा सवा चार धुर जमिनमा बस्दै आएका सुकुमबासीहरूलाई पनि हटाइएको थियो।  सुदूरपश्चिमको स्थायी राजधानी घोषणा गरिएको गोदावरी नगरपालिका–६, पूर्वपश्चिम राजमार्गसँगै जोडिएको हरैयामा एक बिघा सात कट्ठा सवा चार धुर ऐलानी जमिन रहेको नापी कार्यालय कैलालीको सिट नम्बर ०२७–४१० को नक्सामा देखिएको नापी अधिकृत सुदर्शनसिंह धामीले बताए।

तत्कालीन माओवादीले १५ वर्षअघि सो जमिन कब्जा गरी आफूहरूलाई राखेको बताउँदै आएका सुकुमबासीले अहिले आएर घरमा आगजनी, तोडफोड, कुटपिट हुँदासम्म पनि कसैले आफूहरूको पक्षमा नबोलिदिँदा अपहेलित भएको महसुस भइरहेको बताउँदै आएका छन्।  जमिनबाट हटाइएका सुकुमबासीहरू अहिले सडक किनार तथा आफन्तको घरमा आश्रय लिँदै आएका छन्।

रणबहादुर शाहबाट २३ बिघा पाँच धुर खरिद गरेको पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङले सँगै रहेको ऐलानी जमिनसमेत कब्जा गर्ने प्रयासस्वरूप वर्षौदेखि बस्दै आएका सुकुमबासीलाई ‘बाउन्सर’ लगाएर लखेटेको भन्दै तत्कालीन समयमा वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले विरोध गरेको थियो।  अत्तरियाबाट करिब पाँच किलोमिटर दूरीमा राजमार्गसँग जोडिएर रहेको हरैया जमिनको बजार मूल्य महँगो छ।  करिब एक बिघा सात कट्ठा सवा चार धुर जमिनको अहिलेको मूल्य नौ करोडभन्दा बढी हुन्छ।

रियल स्टेटका सदस्य शंकर कार्कीले ऐलानी जमिन रहेको बारेमा आफूलाई जानकारी नभएको बताउँदै आएका छन्।  २०४९ सालतिर दाङका उद्योगी रणबहादुर शाहले चिनी कारखाना खोल्ने भनेर सर्वसाधारणबाट २३ बिघा पाँच धुर जमिन किनेका थिए।  उद्योगी शाहले ‘गेते चिनी कारखाना’का नाममा उक्त जमिन किनेका हुन्।  २०६१ जेठ १३ गते तत्कालीन माओवादीले सो जमिन कब्जा गरी सुदूरपश्चिमका डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका गरिब र विपन्न परिवारका नागरिकलाई ल्याएर बसालेका थिए।

उक्त जमिन शाहबाट सस्तो मूल्यमा पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिलाई बिक्री गराउन माओवादीका नेता कालीबहादुर खाम र सुदूरपश्चिमका उच्च तहका नेताले सहयोग गरेको स्रोत बताउँछ।  जमिन कब्जा गरेर सुकुमबासी बसाउन, बिक्री गराउन र वर्षौदेखि बसेका सुकुमबासीको घर खाली गराउन माओवादीका नेताकै हात रहेको भन्दै समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा तत्कालीन माओवादीका थारुवान राज्य समिति सदस्य कृष्णबहादुर चौधरी ‘कुन्दन’ ले पनि विरोध गर्दै आएका छन्।  जमिन बिक्री गराउन पाँच र खाली गराउन दस गरी पन्ध्र करोड रुपैयाँको चलखेल भएको स्रोत बताउँछ।  हरैया जमिन काण्डमा कैलाली ११ महिनामै तीनवटा प्रमुख जिल्ला अधिकारी फेरिएका थिए।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले हरैयाका सुकुमबासीको सुरक्षार्थ खटिएका राम सिंहको साउन २ गतेका दिन आफूले बोकेको बम विष्फोटन भई ज्यान गएको बताएका थिए।  उनले सिंहलगायत कार्यकर्ता परिचालन भएको बताए पनि उनीहरूले हरैयामा कुनै प्रतिवाद गरेको देखिएको छैन।

हरैयास्थित सुकुमबासीका घर–टहरामा आगजनी, कुटपिट गर्ने र धम्की दिएको भन्दै असार अन्तिम सातामा राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशका अध्यक्ष नन्दराज भट्ट, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला सचिव रुद्र कँडेल, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कैलालीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै विरोध गरेका थिए।  यस घटनालाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठकमा पनि सत्ता पक्ष र विपक्षका सांसदले आवाज उठाएका थिए।  यसैगरी यस क्षेत्रका कानुन व्यवसायी, मानवअधिकारवादीले पनि कानुन हातमा लिएर गुन्डा परिचालन गरी सुकुमबासीलाई उठीबास गरेको घटनाको आलोचना गरेका थिए।

प्रकाशित: २५ श्रावण २०७६ ०२:०९ शनिबार

सुकुमबासी जमिन_कब्जा