राजनीति

विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ

नेपालगञ्ज– रुकुम (पश्चिम) प्रहरीले विप्लव समूहका तीन जना नेताहरूलाई पक्राउ गरेको छ। प्रहरीले नेकपाका केन्द्रीय सदस्य श्यामबहादुर बोहरासहित तीन जनालाई पक्राउ गरेको बताएको छ। पक्राउ पर्नेमा बोहरासहित अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रमप्रशान्त बोहरा, रुकुम (पूर्व) अखिल क्रान्तिकारीका संयोजक हरि पुन रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

केहि दिनदेखी जिल्लाको त्रिवेणी गाउँपालिका र छिमेकी जिल्ला रोल्पा र सल्यानका विभिन्न ठाउँमा रहेका बजार र त्यहाँका स्थानीयसँग चन्दा रकम माग गर्दै अवान्छित गतिविधी सञ्चालन गरिरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तीनै जनालाई मंगलबार राति जिल्लाको त्रिवेणी गाउँपालिका–६ को मुरूबाट पक्राउ गरेको डिएसपी खड्काले बताए।

पक्राउ गरिएका तीनै जनालाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित: २२ श्रावण २०७६ ०८:२१ बुधबार

विप्लव पक्राउ नेता