राजनीति

‘निर्मलाको अपराधी कति वर्षपछि पत्ता लाग्छ?

काठमाडौं - नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले निर्मला पन्तको अपराधी कति वर्षपछि पत्ता लाग्छ भन्दै सरकारसँग प्रश्न गरेकी छन्।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले भनिन्, ‘यो घटना बाहिर ल्याउन अब कति वर्ष लाग्छ ? यदि दोषीलाई कारबाही गर्न सक्दैन भनेर सरकारले सदनलाई जानकारी दिओस्। ’ उनले पन्तको हत्या भएको १ वर्ष पुग्दा पनि सरकारले कानमा तेल हालेर बसेको बताइन्।

सांसद हृदयश त्रिपाठीले नागरिकता पाउनेको नागरिकता गलत भनी सरकारले खारेज गर्ने हो भने नागरिकता दिनेलाई पनि कारबाही हुनुपर्ने बताए।  उनले भने, ‘त्यस्तो गलत नागरिकता दिएको कसले हो त्यसलाई कारबाही भयो कि भएन ? के के कारबाही भयो सदनमा पाउन पाए आभारी हुन्थ्यौं। ’

नेमकिपाका सांसद प्रेम सुवालले सरकारी जग्गा मिचेर छायाँ सेन्टर बनाइएको र संस्कृति मन्त्रीले उद्घाटन गर्ने कुरा आएको भन्दै यस विषयमा संस्कृतिमन्त्रीले जवाफ दिनुपर्ने बताए।  उनले कश्मीरप्रति भारतले गरेको निर्णयले नेपाल र भुटानमा के के असर पर्दछ त्यसबारे सरकारले जानकारी दिनुपर्ने बताए।  कांग्रेस सांसद उमा रेग्मीले सरकारी जग्गा होडबाजी गरेर आफ्नो नाममा दर्ता गर्ने कुरामा सरकारले किन कारबाही गर्न सकेको छैन भन्दै प्रश्न गरिन्। 

कांग्रेस सांसद डिला संग्रौलाले विराटनगर जुट मिलमा भएको भ्रष्टाचार छानबिन गर्न माग गरिन्।  त्यस्तै, कांग्रेस सचेतक पुष्पा भुषालले धुम्वाराहीस्थित नेकपाको पार्टीका कार्यालय सरकारी जग्गामा रहेको भन्दै आपत्ति जनाइन्।  नेकपाका सांसद गजेन्द्रबहादुर महतले जुम्लामा बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको गुनासो गरे।  उनले २०३८ सालमा बनेको १ सय किलोवाट विद्युत प्रसारण लाइनमा समस्या आएकाले अन्धकार भएको बताए।  भारतलाई बेच्ने भनेको बिजुली जुम्लालाई नै बेच्नुहोस्।  जुम्लाको समस्या श्री ३ महाराजले सुन्दिनु प-यो भन्दै विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री वर्षमान पुनप्रति व्यंग्य गरे।

नेकपाका सांसद पदम गिरीले ‘पोखरा–बाग्लुङ सडक निर्माण अवरुद्ध भएकोप्रति ध्यानकर्षण गराए।  ठेकेदारको लापरबाहीले काम अड्किएको बताउँदै राष्ट्रिय गौरवको आयोजनाको यो हालत छ भने अरुको कस्तो होला भन्ने प्रश्न गरे।  कांग्रेस सांसद् मोहमद अफ्ताब आलामले बाढीपीडित समस्या परेका बेला सरकार सुतेर बसेको बताए।  नेकपाका सांसद् नारायणप्रसाद खतिवडाले पत्रकार शालिग्राम पुडासैनीको मृत्युको छानबिन हुनुपर्ने बताए।

राजमोकी सांसद दुर्गा पौडेलले भारत सरकारले जम्मुकश्मीर रलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको विषयमा नेपाल सरकारले पनि बोल्नु पर्ने बताइन्।  यो अन्तर्राष्ट्रिय विषय भएको उनको भनाइ थियो।  नेकपाका प्रमुख सचेतक देव गुरुङले बाढीपहिरो र क्षतिपूर्तिको विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए।  नेकपाका सांसद् दीपकप्रसाद भट्टले सुदूरपश्चिममा एउटा पनि नाका नखोलिएको भन्दै सरकारले पहल गर्नुपर्ने बताए।

नेकपाका नेता रावलले भू–उपयोगन नीति ल्याउँदा ठूलाठूला जग्गा कब्जा रोक्ने विषयमा पनि ध्यानि दिनुपर्ने बताएका छन्।  भूमि व्यवस्थासम्बन्धस् विधेयकमाथिको छलफलमा बोल्दै उनले ठूला ठूला जग्गा कब्जा भए भन्ने कुरा आएकाले यसबारे पनि ध्यान दिनुपर्ने बताएका हुन्।  उनले जनतालाई उचित भूमि व्यवस्था गर्नेेबारे ध्यानदिनुपर्ने बताए।

डा.भट्टराईको कुर्सी किन मिलेन ?

काठमाडौं, साउन २१ (नागरिक)– प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारुढ दल नेकपाका सांसद् विरोध खतिवडाले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका डा.बाबुराम भट्टराई प्रतिपक्ष बस्ने स्थानमा बसेको प्रति प्रश्न उठाएका छन्।  उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी बनेको छ।  पार्टीका नेता यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री छन्।

नयाँ शक्तिको संसद्मा एक सिट मात्र छ त्यसको प्रतिनितित्व डा.भट्टराईले गरेका छन्।  संघीय समाजवादी फोरम तर्फका सांसद् भने सत्तापक्षको सिटमा बस्छन्।  तर, सांसद् खतिवडाले प्रश्न गरे, ‘पूर्वप्रधानमन्त्री माननीय डा. बाबुराम भट्टराईजी अहिले जहाँ बसिरहनुभएको छ, त्यो नै सही हो या संसद्ले व्यवस्थापन ठीक नगरेको हो ? वा उहाँले एकता प्रक्रियालाई सही गरेर इन्कार गरेको हो, त्यसकारण पूर्वप्रधानमन्त्रीज्यूलाई बस्ने उपयुक्त ठाउँको व्यवस्था गर्दै बस्ने ठाउँ देखाइदिनुहुन पनि अनुरोध गर्दछु। ’

सत्तारुढ नेकपा सांसद्ले आफ्नो स्थानबारे प्रश्न उठाउँदा डा. भट्टराई र उनीसँग सँगै बसेका राजपाका राजेन्द्र महतो भने मुसुमुसु हाँसिरहेका थिए।  तर, प्रतिनिधिसभाको बैठक सञ्चालन गरिरहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले भने निर्वाचन आयोगले पार्टी एकीकरण भएको जानकारीसहित पत्राचार नगरेकाले डा.भट्टराईको स्थान नफेरिएको बताइन्।

प्रकाशित: २२ श्रावण २०७६ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App