राजनीति

के साँच्चिकै यो देशमा न्याय हराएकै हो त ?

काठमाडौं– निर्मला हत्या प्रकरणको आज एक वर्ष पूरा भएको छ। तर, अहिलेसम्म न हत्यारा पत्ता लाग्यो न त निर्मलाका परिवारले न्याय पाए।

२०७५ साउन १० गते साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला पर्यो। १० वर्षीया उनको शवमाथि धेरैले राजनीति गरे। सरकार र प्रहरीका विरुद्ध नाराबाजी गरिए। तर, हालसम्म पनि हत्यारा भने पत्ता लागेको छैन। 

न्यायकै लागि निर्मलाका बुबाआमा काठमाडौं आए। न्याय पाउने आसमा उनीहरुले प्रधानमन्त्री, मानवअधिकारकर्मी, सञ्चारकर्मी भेटे। तर, न्याय भने भेटेनन्। 

सरकारले दोषी पत्ता लगाउन धेरै छानबिन समिति पनि गठन गर्यो। डिएनए, भजाइनल स्वाब, रगत, घटनास्थलमा भेटिएका वस्तुहरु परीक्षण गरियो। देशैभर आन्दोलन चर्काइयो। टायर बालिए। प्लेकार्ड हल्लाइए। तर, सबै निरर्थक। किनभने त्यति सबै गर्दा पनि निर्मलाका हत्यारा पत्ता लागेन।

यो अवधिसम्म धेरैले यातना भोगे, अनावश्यक पीडा पनि। केहीले ज्यान नै गुमाउनुपर्ने अवस्था आयो। निर्मलाका आमाबुबाले न्याय खोज्न थालेकै एक वर्ष बित्यो। उनीहरु छोरीको यादमा विक्षिप्त छन्। 

गृहमन्त्री रामबहादुर थापा निर्मलाको जस्ता घटना पहिले पनि हुने गरेको भन्दै यसलाई सामान्यीकरण गर्न तल्लीन छन्। यो एक वर्षमा थुप्रै निर्मलाको बलात्कार भयो, हत्या भयो।  तर, सरकारलाई समृद्धिको नारा लाउँदैमा फुर्सद छैन। के साँच्चिकै यो देशमा न्याय हराएकै हो त?

प्रकाशित: १० श्रावण २०७६ १३:१७ शुक्रबार

निर्मला_पन्त हत्या न्याय