राजनीति

जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभाको बैठकमा बाढी, पहिरो र डुबानपीडितको राहतका लागि ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ पेस गरिएको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्रप्रसाद रिजालले बाढी, पीडित र डुबानपीडितको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि प्रतिनिधिसभाको बुधबारबाट सुरु भएको बैठकमा सो प्रस्ताव पेस गरेका हुन्।

बाढी, पहिरो र डुबानपीडितलाई राहत, उद्धार तथा पुनस्र्थापनका लागि राष्ट्रिय सहमति जुटाउन संसदमा सो प्रस्ताव पेस गर्नु परेको नेता रिजालले बताए।

उनले जनतालाई राहत, उद्धार र पुनस्र्थापनाको उचित व्यवस्था गर्न पनि सरकार र प्रतिपक्ष दलहरूले मिलेर काम गर्नुपर्ने स्पष्ट पारे। उनले सरकार एक्लैले सो विपत्तिको सामना गर्न नसक्ने भएकाले पनि संसदमा सो विषयमा छलफल गरेर अघि बढ्न आफूले सो प्रस्ताव पेस गरेको पनि उल्लेख गरे।

नेता रिजालले बाढी, राहत र उद्धारमा सरकारले हालसम्म गरेका कामको जानकारी संसदलाई गराउन पनि गृहमन्त्री रामबहादुर थापासँग माग गरे। सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर जनताको पीडालाई सम्बोधन गर्न लाग्नुपर्ने उनको भनाइ छ।

नेता रिजालले पेस गरेको सो प्रस्तावको राष्ट्रिय जनता पार्टी, नेपालका सांसद राजकिशोर यादवले समर्थन गरेका छन्।

प्रकाशित: ८ श्रावण २०७६ ०९:३१ बुधबार

बाढी प्रस्ताव डा._मीनेन्द्रप्रसाद_रिजाल