राजनीति

जनताको जनवादबाटै मुलुक अगाडि बढ्छ : मुख्यमन्त्री पोखरेल

रुपन्देही– प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले जनताको जनवादबाटै मुलुक अगाडि बढ्ने बताएका छन्। उनले अहिलेको कार्यदिशाबाट राष्ट्रिय पुँजी र अर्थतन्त्र दुबैको विकास गर्दै समृद्धिको संकल्प साकार पार्न सकिने बताए। 

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४१ औं स्मृति दिवसका  अवसरमा नेकपा बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो कुरा बताएका हुन्।  मुख्यमन्त्री पोखरेलले जनताको जनवाद नै समाजवाद उन्मुख र जवजले लक्षित गरेको उपयुक्त कार्यक्रम भएको बताए। ‘जबजका विषयमा अनावश्यक बहस गर्न जरुरी छैन, जनताको बहुदलीय जनवादबाटै पार्टी र मुलुक अगाडि बढेको छ’, उनले भने। 

नेपालको कम्युनिस्ट पार्टी र आन्दोलन आफ्नै मालिकतामा हुर्किएको र यसले विश्व कम्युनिस्ट आन्दोलनलाई समेत आकर्षित गरेको भन्दै हरेक कार्यकर्तालाई उत्पादनमा जोड्दै नेपाली मौलिकताको समृद्धि हासिल गर्न सकिने बताए। 

विश्वका कम्युनिस्ट नेताहरु नेपालको कम्युनिस्ट पार्टीका लागि प्रेरणाका श्रोत मात्रै भएको तर नेपालको आफ्नै मौलिकताको कार्यक्रम रहेको उनको भनाइ थियो। नेपालमा कम्युनिस्ट पार्टीको जग पुष्पलालले बसालेको, जननेता मदन भण्डारीले त्यो जगलाई फराकिलो बनाई अघि बढाएको र अबका नेताहरुको काम यसैका आधारमा समृद्धि हासिल गर्नु रहेको उनले बताए। 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा प्रदेश सरकारका मन्त्री लिला गिरीले नेपाली राजनीतिमा पुष्पलालले देखाएको बाटो सफल रहेको उल्लेख गर्दै सिद्धान्त, संगठन र सघर्षविना आन्दोलन सफल नहुने धारणा व्यक्त गरे। ‘आर्थिक, सामाजिक रुपान्तरण र विकासको अभिभारा पुरा गर्न आवश्यक छ’ नेता गिरीको भनाइ थियो।

आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादमा पुग्न अहिले लिइएको समाजवाद उन्मुख नीति नै उपयुक्त भएको बताउँदै नेता गिरीले तीनै तहका सरकारहरु यहीँ अभियानमा केन्द्रित रहेको बताए। 

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज एवम् प्रदेश सभा सदस्य दधिराम न्यौपानेले पुष्पलालले नेपालको राजनीतिक परिवर्तनका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। 

पुष्पलाल स्मृति दिवसकै अवसरमा मंगलबार बिहान पुष्पलाल पार्कमा रहेको पुष्पलालको शालिकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवम् पार्टी केन्द्रीय सदस्य गिरीले माल्यापर्ण गरेका थिए। कार्यक्रममा नेकपा नगर कमीटीका अध्यक्ष बावुराम पन्थी, सचिव नारायण बञ्जाडे लगायतले बोलेका थिए। 

प्रकाशित: ७ श्रावण २०७६ १६:१३ मंगलबार

प्रदेश_५ शंकर_पोखरेल पुष्पलाल_स्मृति_दिवस  जनताको_जनवाद नेकपा