राजनीति

कांग्रेसको नियमावली पास

काठमाडौं - एक हप्ताअघि केन्द्रीय समितको बैठकमा प्रस्तुत गरिएको नेपाली कांग्रेसकोे नियमावली २०७६ पारित भएको छ। असार २२ गते बसेको केन्द्रीय समिति बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले मस्यौदा प्रस्तुत गरेका थिए। प्रस्तुत मस्यौदाबारे शुक्रबार छलफल भएको थियो। शुक्रबारको बैठकमा बोल्ने क्रम नसिद्धिएकाले आइतबार पुनः बैठक बोलाइएको थियो।

आइतबार रातिसम्म्म बसेको बैठकले नियमावली पारित गर्ने निर्णय गरेको हो। बैठकमा केन्द्रीय सदस्यहरूबाट उठेका सुझाव नियमावली मस्यौदा संशोधन समितिले समेट्ने गरी पारित गरिएको केन्द्रीय सदस्य उमाकान्त चौधरीले बताए।

‘आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेको सुझावलाई नियमावली मस्यौदा संशोधन समितिले समेट्ने गरी नियामावली पारित गरिएको छ,’ उनले भने, ‘केन्द्रीय सदस्यबाट आएका सबै सुझावालाई मस्यौदा समितिले समेट्नेछ।’ स्रोतका अनुसार नियमावली पारित गर्ने र सदस्यबाट आएका सुझाव समेट्ने प्रक्रियाबारे बैठकमा विवाद बढेको थियो। नियमावली मस्यौदा समितिमा जीवन परियार, ईश्वरी न्यौपाने, प्रदीप पौडेल र मीन विश्वकर्मा सदस्य छन्।

बैठकमा रामचन्द्र पौडेल तथा कृष्ण सिटौला पक्षधर केन्द्रीय सदस्यहरूले पार्टीमा सदस्यता, नविकरणा शुल्क तथा लेवी घटाउन माग गरेका थिए। केन्द्रीय सदस्य चौधरीका अनुसार सदस्यता तथा नवीकरण शुल्क तथा लेवी घटाउन बैठकमा सहमति गरिएको छ। यसबारेमा मस्यौदा समितिले निर्णय गर्ने पनि उनले जनाए। बैठकपछि आइतबार राति कांग्रेसले जारी गरेको प्रेस विज्ञप्तिमा केन्द्रीय कार्य समितिको बैठकमा असार २२ गते प्रस्तुत पार्टीको संशोधित नियमावलीको मस्यौदामाथि आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी बैठकले सर्वसम्मतिले पारित गरेको बताइएको छ।

बैठकमा रामचन्द्र पौडेल, सहमहामन्त्री डा. प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, बालकृष्ण खाँण, रमेश रिजाल, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, उमाकान्त चौधरी, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश लेखक, बहादुरसिंह (लामा) तामाङ, शिवप्रसाद हुमागाँइलगायतका केन्द्रीय सदस्यले बोलेका थिए। बैठकमा केन्द्रीय सदस्य सिटौलाले विपिले बनाएको पार्टीमा बहस र छलफल गर्न पाउनुपर्छ भन्दै संस्थापन पक्षको आलोचना गरेका थिए।

बैठकले मुलुकको विभिन्न भागमा केही दिनयता अबिरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिलाई दृष्टिगत गरी जारी बैठक केही दिनका लागि स्थगित गरेर उद्धार र राहतमा समर्पित हुने निर्णय गरेको पार्टीका अर्का केन्द्रीय सदस्य श्याम घिमिरेले जानकारी दिए। कांग्रेसको अर्को बैठक साउन ७ गते बस्ने भएको छ।

प्रकाशित: ३० असार २०७६ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App