राजनीति

कुण्ठा र घृणाले राष्ट्र बन्दैन : पूर्वराष्ट्रपति यादव

मुक्ति प्रसाद न्यौपाने/विनोद परियार
पाल्पा - संघीय गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालीमा कुण्ठा र घृणाको भावना सिर्जना हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। पूर्वराष्ट्रपति यादवले दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै कुण्ठा र घृणाले राष्ट्र समृद्ध बन्न नसक्ने बताएका हुन्।

‘प्रेस स्वतन्त्रता बचाउनु पत्रकारको धर्म हो। लोकतन्त्र, गणतन्त्र र प्रेस स्वतन्त्रता एउटै हुन्। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो,’ यादवले भने, ‘सबैले सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई संविधानले प्रत्याभूति छ। हर ठाउँमा जातिय, भाषिक तथा अन्य विभेद छन्। यसको अन्त्य हुनुपर्छ।’ उनले  नेपालीको आशिर्वाद र योगदानले मात्र संविधान प्राप्त भएको बताए। उनले पत्रकारलाई सञ्चार विधयकप्रति लक्षित गर्दै भने, ‘प्रेस स्वतन्त्रताको लागि लड्दै जानुस्। प्रेस स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्र, गणतन्त्र तथा समावेशीकरण एउटै विषय हुन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सञ्चार विधयक संसद्बाट फिर्ता हुनैपर्ने भन्दै प्रेस स्वतन्त्रता विनाको लोकतन्त्र सफल नहुने बताए। आचार्यले भने, ‘प्रेस स्वतन्त्रताले कुनै राजनीतिक दल तथा अन्य पदासीन व्यक्तिको पद खोसिने होइन। गल्ति कमीकमजोरी भए भनेर औंल्याउने पत्रकारलाई कहीँ पनि सजायको व्यवस्था छैन। सञ्चार विधयक संसद्बाट फिर्ता हुनैपर्छ।’ सोही अवसरमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले विभेद सधैंका लागि अन्त्य गर्नुपर्ने बताउँदै भनाइ र गराइमा भिन्नता ल्याउन नहुने बताए।

प्रेस युनियनका सभापति बद्री सिग्देलले प्रेसको मुख थुन्नेगरी सरकारले बन्देज गराउन खोजेको भन्दै आपत्ति जनाए। न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले दलित समुदायको सवाललाइ मिडियाले प्राथमिकता दिएर राज्यको ध्यानआकृष्ट गर्ने काममा लाग्न आग्रह गरे। प्रदेश नम्बर ५ का सांसद वीरबहादुर राना, तुलाराम घर्ती तथा डा. पुरनमान बज्राचार्यले जातीय र लैगिक विभेदबाट मुक्ति हुनका लागि प्रतिनिधित्वसँगै सोचमा पनि परिवर्तन हुनुपर्ने बताए। पूर्वसांसद विनोद पहाडीले नेपाल पत्रकार महासंघले दलित समुदायका पत्रकारका बारेमा छलफल गरेर ऐतिहासिक काम गरेको बताए।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले दलित समुदायका पत्रकारको सम्मेलनले गर्ने निर्णय कार्यान्वयन गर्न महासंघ तयार रहेको बताए। उनले छुवाछुतविरूद्व सञ्चारमाध्यमको मुल मुद्वा बनाउने गरि लाग्नुपर्ने बताए। उनले सरकारले ल्याएको आमसञ्चार विधेयक जबरजस्ति पारित गर्न खोजिए त्यसका विरूद्व निषेधआज्ञा तोडेर आन्दोलन गर्ने बताए। सम्मेलनमा देशभरका ७७ जिल्लाबाट करिब १ सय ५० जना दलित पत्रकारको सहभागिता रहेको छ। भेलाबाट दलित पत्रकारहरूका मुद्दाका विषयमा पाल्पा घोषणापत्र जारी हुने भएको छ। संविधानमा जातिय छुवाछुत र भेदभाव अन्त्य भएको बताईरहँदा अझै पनि समाजमा भेदभाव अन्त्य नभएकोले यो सम्मेलन भेदभाव अन्त्यका लागि महत्वपूर्ण हुने अपेक्षा छ।

प्रकाशित: १५ असार २०७६ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App