राजनीति

भुसालकाे गुनासाे: ‘केपी कमरेडका कारण सरकारले अपेक्षा अनुसार काम गरेन’

नेपालगन्ज– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। समग्र सरकारमाथि प्रश्न गर्नुपर्ने अवस्थामा केही मन्त्रीलाई प्रश्न गर्नुको औचित्य नभएको उनको भनाई छ। नेपालगन्ज बिमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै नेता भुुसालले भने, ‘केपी कमरेडले एकल तरिकाले सरकार चलाउँदा समस्या देखिएको छ, समस्या केपी कमरेडमा छ, पार्टीले संस्थागत निर्णय गर्ने हो।’

व्यक्तिले सरकार चलाउने र सरकारले पार्टी चलाउने कार्य गलत भएको उनको तर्क छ। ‘कमरेड केपी सरकारले पार्टी चलाउने भन्नुहुन्छ, यो गलत हो, यसरी पार्टी चल्दैन’, भुसालले भने। दुई अध्यक्षबीच आलोपालो सरकार सञ्चालन गर्ने निर्णय सार्वजनिक भएपछि यसको विषयमा अबको पार्टी बैठकमा कुरा उठ्ने स्थायी समिति सदस्य समेत रहेका भुसालले बताए। दुई ब्यक्तिले गरेको सहमति पार्टीले छलफल गरि अनुमोदन गरेमा मात्रै लागु हुने भएकाले पार्टी बैठकमा पहिले नै छलफल हुनुपर्ने उनको भनाई छ। 

नेता भुसालले शनिबारको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति नतोके बैठक बोलाउन प्रक्रिया सुरु गर्ने बताए। स्थायी कमिटीका बहुमत सदस्यले बैठक बोलाउन हस्ताक्षर सहित अध्यक्षलाई बुझाउने उनको भनाई छ। पार्टीले जनताको बहुदलीय जनवाद र २१ औं शताव्दीको जनवाद भन्दामाथि उठेर जनताको जनवाद मानिसकेपछि अहिले पूर्वएमालेले जबज र पूर्ब माओवादीले २१ औं शताब्दीको जनबाद भन्ने हो भने पार्टी एकताको आधार भत्किन सक्ने उनले चेतावनी दिए। पार्टी कमिटीले ब्यक्ति तोक्ने भन्दा पनि विधी बनाउनुपर्नेमा उनले जोड दिए। अध्यक्ष ओलीले माथिबाटै आफ्ना मान्छे तोकेर जिल्ला कमिटी बनाउन खोज्दाएकता प्रक्रिया १३ महिना ढिला भएको भुसालको आरोप छ। 

प्रकाशित: ७ असार २०७६ १६:३५ शनिबार

नेकपा घनश्याम_भुसाल केपी_शर्मा_ओली सरकार