राजनीति

सुदूरपश्चिम प्रदेशः प्रतिपक्ष सांसदहरूले जलाए रातो किताब

नेपाली कांग्रेस र राजपाका सांसदहरू रातो किताब जलाउँदै। तस्बिरः नागरिक

धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेट अपारदर्शी र भ्रष्टाचार बढाउने भएको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सासंदहरूले प्रदेश शभा भवनको गेटमा रातो किताब जलाएका छन्। प्रदेश सभा बैठकमा बजेटको विरोध गरेर बाहिरिए लगत्तै उनीहरुले मूल गेटमा रातो किताब जलाएका हुन्।

योजनागत नभई बजेटको ठूलो हिस्सा ‘ब्ल्यांक’ राखिएको भन्दै उनीहरू लुट गर्न र आफ्ना आसेपासेलाई मनपरी ढंगले वितरण गर्न बजेट ल्याइएकाले पीडा भएकाले रातो किताब जलाएको प्रतिक्रिया दिएका छन्। रातो किताब जलाउनुका साथै केही समय उनीहरूले नाराबाजीसमेत गरेका थिए।

‘लुटतन्त्र मुर्दावाद, यो रातो किताब होइन ब्ल्यांक किताब हो’ लगायतका नारा उनीहरूले लगाएका थिए। प्रतिपक्ष नेपाल कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले विकास हुने योजनाभन्दा आसेपासे र व्यक्तिगत फाइदा हुने बजेट ल्याइएकोले रातो किताब जलाएको बताएका छन्। ‘बजेट भाषण गरेको चार दिनपछि मात्रै रातो किताब दिइएको छ,’ उनले भने, ‘रातो किताबमा योजनाहरू प्रष्ट रुपमा छैनन्।’

अर्का सांसद भरतबहादुर खड्काले प्रदेश सरकारले तेस्रो पटक ल्याइएको बजेट पनि ब्ल्यांक राखेर भोलि आफूखुसी बाँडफाँट गरेर खाने प्रकारले बजेट ल्याइएकाले बढी पीडा भएको बताए। संसदलाई गुमराहमा राखेर बजेट ल्याइएको उल्लेख गर्दै उनले भने, ‘संसद र जनताको अपमान हुने गरी यो बजेट ल्याइएको छ।’ लुटेर खानका लागि तालिम, गोष्ठीमा बजेट विनियोजन गरिएको, ४५ हजार, ८० हजारका समेत बजेट ल्याइएको उनले बताए। एनजिओको वार्षिक कार्यक्रम जस्तो पनि यो बजेट नभएको उनको भनाइ छ। यो बजेटले जनता ठगिएको उनले बताए। रातो किताब जलाउँदा राजपाका सासंदको पनि सहभागिता थियो।

संसद बैठक स्थगित
अपारदर्शी र भ्रष्टाचारलाई प्रोत्साहन दिने गरी बजेट ल्याएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्र्रेस र राष्ट्रिय जनता पार्टीले बिहीबारको प्रदेश सभा बैठक पनि अवरुद्ध गरे। प्रदेश सभा बैठक सुरु भएलगत्तै कांग्रेस र राजपाका सांसदहरू आफ्नो ठाउँमा उठेर विरोध जनाएका थिए। 

सभामुख अर्जुनबहादुर थापाले पटकपटक बस्न आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरू उठिरहे। सभामुख थापाले एकजना सांसदलाई धारणा राख्न आग्रह गरेपछि कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले संसदको अपमान हुने गरी र लुटतन्त्र मच्चाउने गरी बजेट ल्याइएकाले विरोध गरेको बताएका थिए। 

‘सरकारले लुटतन्त्र मच्चाउने गरी जनतामैत्री बजेट नल्याएकाले यो स्वीकार गर्न सक्तैनौं,’ उनले भने। बजेट संशोधन नभएसम्म संसद बैठक अवरुद्ध गर्ने उनको भनाइ थियो। ‘यो रेड बुक होइन, ब्ल्यांकबुक हो,’ उनले भने, ‘यसमा सरकारका मन्त्रीहरूले जसरी योजना भरे पनि हुन्छ।’ सरकारले रातो किताबमा उल्लेख गरेका योजनाहरूले विकास र समृद्धि नभई लुट र भ्रष्टाचार बढाउने उनले बताए।

विपक्षी दलका सासंदहरूले विरोधस्वरुप उभिराखेपछि सभामुखले बैठक स्थगित गरेका थिए। प्रतिपक्षीको अवरोधका कारण बैठक स्थगित गर्नु अघि सभामुख थापाले आर्थिक मामिला तथा योजना मन्त्रीलाई बजेटबारे प्रष्ट पार्न विशेष समय उपलब्ध गराएकाले कुरा सुनेर मात्रै विरोध गर्न आग्रह गरेका थिए। तर, प्रतिपक्षी सांसदहरूले अवरोध जारी राखेपछि असार ८ गते आइतबारसम्मका लागि सभामुख थापाले बैठक स्थगित गरेका थिए।

बिहीबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेटको विषयमा धारणा राख्ने कार्यसूची थियो। प्रदेश सरकारले भने बजेट संशोधन नहुने बताएको छ। आर्थिक मामिला तथा योजना मन्त्री बोहराले सबै क्षेत्रलाई समेटेको विकास र समृद्धि ल्याउने बजेट भएकाले प्रतिपक्षको विरोधका कारण संशोधन नगरिने बताए। केही बजेट मन्त्रालयगतरूपमा योजना बनाएर ‘ब्रेकडाउन’ गर्दै लगिने उनको भनाइ छ। ‘बजेटले सबै वर्ग र क्षेत्रलाई छोएको छ,’ उनले भने, ‘कसैले भन्दैमा संशोधन गर्ने कुरा हुँदैन।’ प्रदेश सरकारले असार १ गते २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो।  

प्रकाशित: ५ असार २०७६ १२:४० बिहीबार

बजेट रातो_किताब जलाए प्रतिपक्ष नेपाली_कांग्रेस