राजनीति

गुठीको पक्षमा जनसागर, विधेयक खारेज गर्न माग

काठमाडौं - सरकारले फिर्ता लिएको विवादित गुठी विधेयक खारेज गर्नुपर्ने माग राखेर बुधबार गुठियार र संरक्षणकर्मीको अगुवाइमा राजधानीमा विशाल प्रदर्शन  गरिएको छ । राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको व्यापक विरोध भएपछि मंगलबार भूमि व्यवस्था मन्त्रालयले फिर्ता लिएको घोषणा गरेको थियो । तर गुठियार, संरक्षणकर्मी र सरोकारवालाले सरकारले भ्रमपूर्ण विज्ञाप्ति निकालेर जनतालाई झुक्याएको भन्दै विधेयक खारेजीको माग राखेर प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट निस्किएको जुलुस माइतीघरमा एकीकृत भई खबरदारी सभामा परिणत भएको थियो । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति, गुठी विधेयकविरुद्ध संघर्ष समिति, नेपाल राष्ट्रिय परिषद, हली नेवाः गुठीलगायत विभिन्न गुठी संरक्षणकर्मीले अगुवाइ गरेको जुलुसमा सहभागीले सरकारको विरोधमा चर्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीले विधेयक खारेजी नभएसम्म आन्दोलन जारी राख्नेजस्ता नारा पनि लगाए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार पत्रकार सम्मेलन गरी विवादित गुठी विधेयक फिर्ता लिएका जानकारी गराएकी थिइन् । तर मन्त्रालयले फिर्ता लिएको विधेयक खारेज हुनुपर्ने माग गुठियार र संरक्षणकर्मीको छ । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले सरकारले विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने बताए । ‘सरकारले गुठी विधेयक फिर्ता लिएको भनिएको प्रेस विज्ञप्तिमा हस्ताक्षर र छाप छैन । जिम्मेवार निकाय भएपछि यसरी गल्ती गर्न मिल्दैन,’ उनले भने, ‘त्यसैले विधेयक फिर्ता चित्तबुझ्दो छैन । सरकार भ्रम सिर्जना गरेर धर्म, सम्पदा र संस्कृति मास्न लागेको छ । विधेयक फिर्ता लिएर मात्रै हुँदैन तत्काल खारेज हुनुपर्छ । खारेज नभएसम्म आन्दोलन जारी रहनेछ ।’

सरकारले धर्म, संस्कृति र सम्पदामाथि अतिक्रमण गर्न खोजेको भन्दै उनले प्रधानमन्त्री, सञ्चारमन्त्री, भूमि व्यवस्था मन्त्री, गृहमन्त्रीको राजीनामा मागे । ‘गुठी भनेको राष्ट्रको सान हो । नेवाःको सभ्यता हो । तीन करोड जनताको पहिचान होे,’ उनले भने, ‘सरकारले संविधानविपरीत गएर गुठीमाथि अतिक्रमण गर्न पाउँदैन । संस्कृतिमाथि हस्तक्षेप गर्ने मन्त्रीलाई कारबाही हुनुपर्छ । जनताले खबरदारी गर्दागर्दै पनि सरकारले गुठी मास्न चलखेल जारी राखे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र सिंहदरबार घेराउ गर्न पुग्नेछौं ।’ सरकारले सम्पदा, मठ–मन्दिर र गुठी जग्गा हडप्न भूमाफियालाई सहयोग पुग्नेगरी विधेयक ल्याएको उनको आरोप छ ।
विरोधसभालाई सम्बोधन गर्दै सम्पदाप्रेमी अनिश वैद्यले सरकारले गुठी विधेयक ल्याएर नकारात्मक काम गरेकाले जनताले सडकमा आएर खबरदारी गरेको बताए । ‘भ्रष्टाचार, संम्पदामाथि अतिक्रणलगायत नकारात्मक कार्यमा सधैं हामीले खबरदारी गर्नुपर्छ । गुठी विधेयकविरुद्ध खबरदारी गर्नकै लागि महासागर भई माइतीघरमा विरोध गरिरहेका छौं,’ उनले भने, ‘मूल आदिवासी जनजाति हौं । कसैले हाम्रो धरोहर, पहिचान र संस्कृतिमाथि हस्तक्षेप गर्न पाउँदैन । सरकारले विधेयक फिर्ता लिएर मात्र हामीलाई मान्य छैन । त्यो तुरुन्त खारेज गर्नुपर्छ ।’ उनका अनुसार उपत्यकामा गुठीकै कारणले विभिन्न जात्रा, पर्व र ऐतिहासिक सम्पदा बचेका छन । तर, सरकारले गुठी विधेयक ल्याएर सबै जात्रा, पर्व, सम्पदा र संस्कृति मास्न लागेको उनले बताए ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सरकारले नेवाःको भूमि अतिक्रण गर्न खोजेको आरोप लगाउँदै तत्काल गुठी विधेयक खारेज हुनुपर्ने माग गरे । ‘सरकारले विधेयक फिर्ता लिएको भनी जनतामा भ्रम फैलाएको छ,’ उनले भने, ‘सरकार नेवाःको सभ्यता, संस्कृति र भूमिमाथि अतिक्रण गर्न लागेको छ । यस्तो विधेयक खारेज गर्नुपर्छ ।’ ढिमेबाजा, झयाम्टा, लाखेनाचसहित प्रदर्शनकारी सडकमा उत्रिएका थिए । केही गुठियार संरक्षणकर्मी, गायक योगेश्वर अमात्यलगायतले माइतीघरमा सुरक्षाका लागि खटिएका प्रहरीलाई जनतासगँ मित्रवत व्यवहार गर्न भन्दै फूलका थुँगा दिएका थिए । खबरदारी सभामा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ र सांसदको समेत उपस्थिति थियो ।

प्रकाशित: ५ असार २०७६ ०१:४७ बिहीबार

सरकार गुठी_विधेयक खारेज