राजनीति

जागरण अभियानमा कांग्रेसको निष्कर्ष : आफ्नो पार्टीप्रति आकर्षण सरकारप्रति विकर्षण

फाइल तस्बिर

काठमाडौं- नेपाली कांग्रेसले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ। राष्ट्रिय जागरण अभियानको प्रथम चरणका कार्यक्रमको समीक्षा गर्दै कांग्रेस यस्तो निष्कर्षमा पुगेको हो। काग्रेसले "हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान"  को नारा सहित वैशाख २५ देखि जेठ २५ सम्म देशव्यापीरुपमा कार्यक्रम आयोजना गरेको थियो।

वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरुले सरकारप्रति तीव्र बढाएको असन्तुष्टी जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट भएको उसको बुझाई छ। फेरी पनि नेपाली कांग्रेसले आफूलाई नविन ढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं सम्वद्र्धनको भूमिका निर्वाह गर्नु पर्ने आम अपेक्षा देखिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। सोही आशा र विश्वासको भावनाका साथ नेपाली कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको उनले बताए। अभियान क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरुबाट नेपाली कांग्रेसमा देशभरिका कार्यक्रम मार्फत ३१ हजार ६ सय ४२ जना कांग्रेस प्रवेश गरेको उनको भनाई छ।

वडा स्तरीय कार्यक्रम समेत गरी २ हजार भन्दा बढी कार्यक्रम अभियनाको क्रममा कांग्रेसले गरेको छ। अभियानको दोस्रो चरण भदौ २४ गते विपि जयन्तीको दिनबाट सुरु हुने कांग्रेसले जनाएको छ। अभियना असोज ७ गतेसम्म चल्नेछ। अभियानकै क्रममा नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरु बारे आवश्यक निर्णय यथाशीघ्र लिइने प्रवक्ता शर्माले बताए।
 

प्रकाशित: ३० जेष्ठ २०७६ ०६:३० बिहीबार

कांग्रेस जागरण_अभियान सरकार