राजनीति

लोकसेवाले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सत्तारुढ सांसदको दवाव

फाइल फाेटाे

काठमाडौं– सत्तारुढ दलकै सांसदहरुले लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई चर्को दवाव दिएका छन्। सत्तारुढ समाजवादी पार्टी, नेपालका नेता एवम् सांसद रामसहायप्रसाद यादवले संघीयता, संविधान र कानुन विपरित स्थानीय तहको समेत कर्मचारी नियुक्त हुने गरी लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता नलिए मुलुक गम्भीर द्वन्द्वमा फस्ने चेतावनी दिए।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले स्थानीय तहको आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा समेत लोकसेवा आयोगले विज्ञापन गरेपछि त्यसको विरोधमा देशभर आन्दोलन सुरु भएको उल्लेख गर्दै त्यसलाई तत्काल नसच्याए मुलुकमा ठूलो द्वन्द्व निम्तिनेतर्फ सरकारलाई सचेत पनि गराए।

लोकसेवा आयोगले केही दिन अघि प्रदेश र स्थानीय तहमा समेत कर्मचारी नियुक्त गर्ने गरी विज्ञापन खुला गरेको थियो। सो विज्ञापन संविधान र कानुन विपरित आएको सांसद यादवको दावी छ। उनले स्थानीय तह आफैले कर्मचारी नियुक्त गर्न पाउने संवैधानिक अधिकार लोकसेवा आयोगले कटौति गर्न नपाउने पनि स्पष्ट पारे।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले मुलुकमा थप आर्थिक बोझ हुने गरी लोकसेवा आयोगले कर्मचारीको नियुक्तीका लागि विज्ञापन खुला गरेकोमा आपत्ति जनाइन्। उनले कर्मचारी कटौती गर्ने र उनीहरुको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराए। गरिव जनताले तिरेको ट्याक्सबाट कर्मचारी र जनप्रतिनिधिहरुलाई सेवा, सुविधा थप गर्ने काम गर्नु अपराध सरह भएकाले कर्मचारीहरुको सेवा, सुविधा बढाउने काम सरकारले गर्न नहुने सांसद भुसालको भनाई छ।

सांसदहरुले कर्मचारीहरुको अभाव भए तत्कालका लागि करारमा राख्ने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: २२ जेष्ठ २०७६ ०८:३३ बुधबार

सत्तारुढ_सांसद लोकसेवा_आयोग विज्ञापन_विवाद