राजनीति

नतिजा खारेज नगरे कडा आन्दोलनमा उत्रने विद्यार्थीको चेतावनी

काठमाडौं - त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अवैधानिक रुपमा प्रकाशित गरेको नतिजा तत्काल खारेज नगरे कडा आन्दोलनमा उत्रने चेतावनी विद्यार्थीहरुले दिएका छन्। आयोगले प्रकाशित गरेको अवैधानिक नतिजा खारेज गर्नुपर्ने, त्रिवि सेवा आयोग तत्काल खारेजी गरिनुपर्ने र भ्रष्ट पदाधिकारीहरु बर्खास्तको माग गर्दै दुई सातादेखि मोहन वैद्य पक्षधर नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीको भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन आन्दोलनमा उत्रेका छन्। आन्दोलनरत विद्यार्थी आयोगको मूल गेटमा अनिश्चितकालीन रिले अनसनमा छन् भने त्रिवि पदाधिकारीहरुले आन्दोलनकारीको बेवास्ता गरेपछि अब आन्दोलनको स्वरुप फेरेर चर्को रुपमा प्रस्तुत हुने क्रान्तिकारीका अध्यक्ष हरिकष्ण गजुरेलले बताए।

त्रिवि सेवा आयोगले प्रकाशित गरेको विज्ञापन नम्बर १८/२०७३/२०७४ मा भएको लिखित परीक्षाको नतिजामा अनियमितता भएको भन्दै अख्तियारले थालेको छानबिन किनारा नलाग्दै त्रिवि सेवा आयोगले अन्तरवार्ता सुरु गरेकोमा संगठन आक्रोशित भएको हो। परीक्षाको नतिजामा त्रिविका पदाधिकारीहरुका आफन्त तथा नातेदारहरुको नाम प्रकाशित भएको सार्वजनिक भइसकेको छ। एकातिर अख्तियारले परीक्षामा सहभागिता जनाएका सबै परीक्षार्थीहरुको उत्तरपुस्तिकासहित आवश्यक कागजात छानबिनका लागि लगिसकेको छ भने अर्कोतिर छानबिनको किनारा नलाग्दै सेवा आयोगले शाखा अधिकृत बाहेकका सबै पदका लागि अन्तवार्ता सुरु गरेको छ।

‘त्रिवि सेवा आयोग लगायतका पदाधिकारीहरुले नतिजामा आ–आप्mना नातेदारको खुलमखुला नाम निकालेका छन्,’ अध्यक्ष गजुरेलले अनसन स्थलबाटै नागरिकसँग भने, ‘अखितियारले छानबिन गरिरहेकै बेलामा आयोगले धमाधम अन्तरवार्ता पनि लिइरहेको छ।’उनले चेताए, ‘दुई तिन दिनभित्र त्रिविले प्रकाशित अवैधानिक नतिजा खारेजी नगरे हामी विद्यार्थीहरु पदाधिकारीहरुलाई काराबही गर्न पछि पर्दैनौं।’ विश्वविद्यालयमा कायम रहेको विसंगति र विकृतिको विरुद्धमा विद्यार्थीहरु चुपलागेर बस्न नसक्ने समेत उनले चेताए।

सोही संगठनका महासचिव पेशल दहालले त्रिविका पदाधिकारीहरु राजनीति आडमा विश्वविद्यालयलाई नै भ्रष्टाचारको अखडा बनाएको आरोप लगाए। उनले विश्वविद्यालयका पदाधिकारिहरु गलत काम गर्दा पनि कुनै कारबाही नभएकै कारण उनीहरु थप गलत काम गर्न प्रोत्साहित बनेको समेत आरोप लगाएका छन्। ‘सम्बन्धित निकायमा हामी विद्यार्थी, शिक्षक तथा अभिभावहरुले धेरै गुहा¥यौं। काराबाही प्रक्रिया अघि बढेन। अब विद्यार्थीहरुले नै भ्रष्ट पदाधिकारीहरुलाई काराबाही गर्छौं,’ महासचिव दहालले भने। उनले अख्तियारले यस्ता संवेदनशील विषयमा छिटो निर्णय नगर्नु र अर्कातर्फ आयोगले धमाधम अन्तरवार्ता सकाउनुले अख्तियारको कामकारबाही प्रति नै शंका उब्जाएको उनको ठहर छ।

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर छानबिन भइरहेको बताए। आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाले आयोगमा १९ हजार उजुरी रहेको बताउँदै उजुरीकै आधारमा अरु काम रोक्न नमिल्ने बताए। ‘त्रिवि सेवा आयोग परिक्षाको नतिजाको सबै कागजात अख्तियारले छानबिन गरिरहेकै छ। त्यसबीचमा अन्तरवार्तालाई आयोगले रोक्न मिल्दैन,’ प्रवक्ता कोइरालाले नागरिकसँग भने, ‘उजुरी परेकै आधारमा सबै काम ठप्प पार्नु मिल्दैन।’ उनले थपे, ‘अन्तरवार्ता भए पनि आयोगले नतिजा प्रकाशन गर्न नमिल्ने अख्तियारले निर्देशन दिएको छ।’ उनले अख्तियारले छिनोफानो गरेपछि दोषी भेटिएमा े अन्तरवार्ता स्वतः खारेजी हुने उनको भनाइ छ।

प्रकाशित: २१ जेष्ठ २०७६ ०३:५१ मंगलबार

त्रिभुवन_विश्वविद्यालय सेवा_आयोग अवैधानिक आन्दोलन