राजनीति

आगामी बजेटले देश विकासको गियर बढाउँछः प्रधानमन्त्री ओली

धादिङ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन्। धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै ओलीले भने, ‘जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत हुन्छ। यसले देश विकासको गियर परिवर्तन गर्छ। देश विकासको गति दुई गियरमा छ भने तीनमा पुर्याउँछ। तीनमा छ भने चारमा पुग्छ।’ 

मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने उनले बताए। ‘हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं’, ओलीले भने, ‘सूचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ।’

प्रधानमन्त्री ओलीले सरकारले विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको बताए। सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको उनको भनाइ छ। 

प्रकाशित: ६ जेष्ठ २०७६ १३:२६ सोमबार

बजेट देश_विकास गिय प्रधानमन्त्री_ओली