राजनीति

विधेयक फिर्ता लिनुपर्छः गच्छदार

विराटनगर– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसद्मा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधनसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले सञ्चारमाध्यमले के लेख्ने के नलेख्ने भन्नेबारे विचार पुर्‍याउनुपर्ने बताए। सरकारले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउन नहुने गच्छदारले बताए। कांग्रेस संसदीय दलका उपनेतासमेत रहनुभएका गच्छदारले प्रतिपक्षी दलको हैसियतले काङ्ग्रेस प्रेस जगतको अधिकारमाथि प्रहार एवं कुण्ठित गर्ने जुनसुकै विधेयकको सदैव विरोध गर्ने धारणा व्यक्त गरे।

उपसभापति गच्छदारले संसद्मा दर्ता गरिएको सुरक्षापरिषद् र मानव अधिकारसम्बन्धी विधेयकले लोकतान्त्रिक विधि, सङ्घीयता र संसदीय प्रजातन्त्रलाई कमजोर पार्ने हुनाले सरकारले उक्त विधेयक सम्बन्धमा प्रतिपक्षसँग सल्लाह एवं सहमति गरी ल्याउनुपर्नेमा जोड दिए। नेता गच्छदारले वर्तमान संविधान सबैको सहयोगमा निर्माण भएकाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने कार्यको निर्भरता सरकारमा रहेकाले लोकतान्त्रिक विधिबाट मुलुक सञ्चालनमा प्रतिपक्षको सदैव सहयोग रहने उनले बताए।

प्रकाशित: ३ जेष्ठ २०७६ १६:१३ शुक्रबार

नेपाली_कांग्रेस विजयकुमार_गच्छदार नेपाल_मिडिया_काउन्सिल_कानून_संशोधन फिर्ता