राजनीति

भागबन्डामा सहमति

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ। नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग भएको छलफलका क्रममा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो सदस्य बनाउने सहमति भएको छ। केन्द्रीय कमिटीको एकतिहाइ रहनेगरी पोलिटब्युरो कमिटी गठन हुने विधानमा व्यवस्था छ। केन्द्रीय समिति ४ सय ४१ सदस्यीय छ। यीमध्येबाट १ सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुन सक्छ।

नेकपाभित्र कम्तीमा दुईपटक केन्द्रीय सदस्य भइसकेकामध्येबाट पोलिटब्युरो सदस्य चयन गर्ने तयारी छ। त्यसमा पनि बाहुन क्षेत्रीको हकमा तीन र महिला, दलित, जनजाति र मधेसीको हकमा दुई कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने मापदण्ड लागू गर्ने सहमति नेताहरुले गरेका छन्। सो मापदण्डअनुसार पोलिब्युरो गठन गर्दा केपी ओली समूहबाट ३८, पुष्पकमल दाहाल समूहबाट ४९, माधवकुमार नेपाल समूहबाट ३६, रामबहादुर थापा समूहबाट १०, वामदेव गौतम समूहबाट ७ र नारायणकाजी श्रेष्ठ समूहबाट ७ जना पर्नेछन्।

पूर्व माओवादीका तर्फबाट केही सदस्य चयन हुन बाँकी रहेकाले थापा र श्रेष्ठ समूहमा केही सदस्य थपिने र दाहाल समूहबाट केही सदस्य घट्नसक्ने स्रोतले जनाएको छ। नेपाल समूहमा झलनाथ खनाललाई पनि समेटिएको छ भने ओली समूहमा ईश्वर पोखरेल समेटिएका छन्। खनालले आफ्नो छुट्टै समूह बनाएका छैनन। उनी अहिले पार्टीभित्र नेपालले उठाएका मुद्दामा सहमत हँुदै आएका छन्। ‘दुई अध्यक्ष र वरिष्ठ नेताबीच पोलिटब्युरो गठनबारे सहमति भएको छ। नेपाल अमेकिाबाट फर्केलगत्तै यसले पूर्णता पाउनेछ’, पार्टीनिकट उच्च स्रोतले भन्यो।

दाहाल ४९, ओली ३८, नेपाल ३६, थापा १०, गौतम ७, श्रेष्ठ ७

यसअघि नै भएको सहमतिअनुसार तत्कालीन एमालेबाट ८१ र तत्कालीन माओवादीबाट ६६ जना सदस्य पोलिटब्युरोमा पर्नेछन्। तत्कालीन एमालेमा ६५ जनाको पोलिटब्युरो रहेकाले उनीहरूमध्येबाटै चयन गर्ने र बाँकीको हकमा दुईपटक केन्द्रीय सदस्य भइसकेकाबाट वरिष्ठतालाई हेरेर बढुवा गर्ने सहमति पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भएको छ। तत्कालीन माओवादीको ९९ सदस्यीय सचिवालय रहेकोमा तीमध्ये वरीयताका आधारमा ६६ जनालाई मात्र पोलिटब्युरोमा समेट्ने तयारी छ।

प्रकाशित: १९ वैशाख २०७६ ०६:५१ बिहीबार

नेपाल_कम्युनिस्ट_पार्टी एकीकरण माधव_नेपाल केपी_शर्मा_ओली