राजनीति

विप्लवका कोसी ब्यूरो इञ्चार्ज श्रेष्ठलाई संगठित अपराधमा म्याद थप

धरान- आइतबार राति मोरङबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोसी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) सहित दुई जनालाई धरानमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

ब्युरो इञ्चार्ज श्रेष्ठसँगै पक्राउ परेका माधव गौतमलाई प्रहरीले संगठित अपराध र हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको हो। इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले सोमबार जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप भएको जानकारी दिए। ‘संगठित अपराध र हातहतियार तथा खरखजना मुद्दामा ५ दिनको म्याद थप भएको छ,’डिएसपी तिम्सिनाले भने,‘थप अनुसन्धान भइरहेको छ।’ श्रेष्ठसँगै पक्राउ परेका गौतम पनि कोशी ब्युरो सदस्य भएको खुलेको छ।

प्रहरीका अनुसार गत फागुन दोस्रो साता धरानमा वरामद भएको २ थान अत्याधुनिक हतियारको मुद्दामा श्रेष्ठ र गौतम पनि जोडिएका हुन्। त्यसैले दुवैलाई धरान ल्याएर संगठित अपराधसँगै हातहतियार तथा खरखजना मुद्दा प्रहरीले चलाएको हो। फागुन १५ गते धरान ६ पानवारीको चोक्टीबाट विप्लव नेतृत्व पार्टीकये कोशी ब्युरो सदस्य देवकुमार लिम्बू एम १६ र एलएमजीसहित पक्राउ परेका थिए। प्रहरीका अनुसार लिम्बूको वयानबाट नै ती हतियार ओसारपसारमा श्रेष्ठ पनि जोडिए पछि त्यस बेलादेखि नै प्रहरीको खोजीमा थिए। ‘वरामद भएको हतियारसँग पनि जोडिएको हुनाले धरानमा ल्याएर अनुसन्धान भइरहेको छ, अदालतबाट म्याद थप पनि भएको छ,’जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुँयालले भने।

हिंसात्मक गतिविधि बढाएपछि सरकारले विप्लव नेतृत्वको पार्टीको गतिविधिमाथि प्रतिबन्ध लगाएको छ भने नेता, कार्यकर्ताहरु प्रहरीले कडा निगरानीमा छन्। एक पछि अर्को उच्च नेता, कार्यकर्ताहरु पक्राउ पर्ने क्रम पनि जारी छ। विप्लवको कोशी ब्युरो इञ्चार्ज श्रेष्ठ र सदस्य गौतमलाई प्रहरीले आइतबार मोरङको कानेपोखरी ४ बाट पक्राउ गरेको थियो। त्यस क्षेत्रमा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आउँदा दुवै पक्राउ परेको बताइएको छ। श्रेष्ठ जनयुद्धकालदेखि नै तत्कालिन माओवादी पार्टीमा सक्रिय थिए। शान्तिप्रक्रिया पछि मोहन वैध (किरण) ले पार्टी फुटाउँदा उनी बैधतिर गएका थिए। पछि विप्लवले वैध नेतृत्वको पार्टी पनि फुटाएपछि श्रेष्ठ पनि हाल विप्लव नेतृत्वको पार्टीमा छन्।

प्रकाशित: १२ चैत्र २०७५ १२:४८ मंगलबार

विप्लव कोसी मुद्दा