राजनीति

मेयर प्याकुरेलमाथि पार्टीले गरेको कारवाही फुकुवा

ताप्लेजुङ– तत्कालीन एमालेबाट निर्वाचित ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका नगर प्रमुख छत्रपति प्याकुरेललाई पार्टी सदस्यता समेत नरहने गरी गरिएको कारवाही नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १ नं प्रदेश कमिटीले फुकुवा गरेको छ। 

मंगलवार सकिएको प्रदेश कमिटीको बैठकले नगर प्रमुख प्याकुरेललाई गरिएको कारवाही फुकुवा गर्दै नेकपाबाट निर्वाचित नगर प्रमुखकै हैसियतमा काम कामकाज गर्ने वातावरण बनाउन माताहतका कमिटीलाई निर्देशन दिएको नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले जानकारी दिए। ‘प्याकुरेल माथिको कारवाही फुकुवा गरी उहाँलाई नेकपाबाट निर्वाचित नगर प्रमुखको हैसियतमा कामकाज गर्ने वातावरण मिलाउन सम्वन्धित सबै पार्टी कमिटीलाई परिपत्र गरिएको छ’, घिमिरेले भने। प्रदेश कमिटीको यो निर्णयसंगै प्याकुरेल अब नेकपाकै जिम्मेवारीमा रहनेछन्। 

प्रदेश कमिटी अध्यक्ष घिमिरेले नेकपाको जिल्ला तह बनि नसकेको भन्दै प्याकुरेलको आगामी पार्टी जिम्मेवारी बारे भने खुलाएनन्। कारवाहीसँगै प्याकुरेल नेकपाका गतिविधिबाट बाहिरिएका थिए। 

तत्कालिन  नेकपा एमाले जिल्ला कमिटीले पार्टी हित बिपरित काम गरेको अभियोग लगाउँदै तत्कालिन जिल्ला सदस्य समेत रहेका प्याकुरेललाई साधारण सदस्य समेत नरहने गरी कारवाहीका लागि उपल्लो कमिटीमा सिफारिस गरेको थियो। प्याकुरेलसंगै जिल्ला सचिवालय सदस्य तथा पूर्व सांसद भूपेन्द्र थेवे र अर्का सचिवालय सदस्य तथा उनकी श्रीमती उर्मिला थेवे समेतलाई स्पष्टीकरण माग गर्ने निर्णय भएको थियो। उर्मिला सिरीजङ्घा गाउँपालिका वडा नं १ सिनामबाट निर्वाचित वडाध्यक्ष हुन्। 

प्रकाशित: ६ चैत्र २०७५ ०८:४५ बुधबार

मेयर_छत्रपति_प्याकुरेल फुङ्लिङ_नगरपालिका कारवाही फुकुवा