राजनीति

मन्त्रीकाे नेतृत्वमा सरसफाइ

बाराको कलैयामा हातमा झाडु लिएर सडक सफा गर्दे प्रदेश मन्त्री जितेन्द्र सोनललगायत।

बारा  – प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिबार बाराको कलैयामा सडक सफाइ गरेका छन्। प्रदेश सरकारको ‘स्वच्छ प्रदेश समृद्ध प्रदेश’ अभियानअन्तर्गत मन्त्री सोन आफैं झाडु लिएर सरसफाइमा सहभागी भएका हुन्।

उनको नेतृत्वमा कलैया बजार रोड, हनुमान मन्दिर रोड, राजदेवी मन्दिर र भरत चोकमा सरसफाइ गरिएको आयोजक कलैया उपमहानगरपालिकाले जनाएको छ। प्रदेश सरकारले तय गरेको ‘स्वच्छ प्रदेश समृद्ध प्रदेश’ नाराअनुसार सरसफाइ गरिएको मन्त्री सोनलले बताए।

प्रदेशका प्रत्येक स्थान सफा राख्ने अभियानमा प्रदेश सरकार लागेको मन्त्री सोनलले बताए। स्वच्छ र सुन्दर ठाउँले सभ्य समाजको परिचय दिने भएकाले आफ्नो क्षेत्र सफा राख्न कलैया उपमहानगरपालिकावासीलाई मन्त्री सोनलले सुझाव दिए।
सरसफाइ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंहले कलैया, बारा जिल्लाको सदरमुकामसमेत भएकाले यसलाई सफा राख्न सबै जिम्मेवार बन्नुपर्ने बताए। कलैयालाई सफा र स्वच्छ राख्न वार्षिक दुई करोड रुपैयाँभन्दा बढी रकम खर्च गरिए पनि नगरवासी र व्यपारीहरूले जथाभाबी फोहोर फाल्ने गरेकाले नगरमा फोहोर थुप्रिन नछाडेको उनको आरोप छ।

सरसफाइमा प्रतिनिधि सभा सदस्य रामएकबाल मियाँ, प्रसौनी गाउँपालिकाका प्रमुख भोला गुप्ता, देवताल गाउँपालिकाकी प्रमुख चन्दा सिंह, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, सुरक्षाकर्मी, विद्यार्थी, व्यापारी तथा सर्वसाधारणको सहभागिता थियो।

प्रकाशित: १९ फाल्गुन २०७५ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App