राजनीति

कार्यक्रमस्थलबाटै समातिए विप्लव कार्यकर्ता

इलाम – प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ कार्यकर्तालाई फाकफोकथुम गाउँपालिकाबाट मंगलबार पक्राउ गरेको छ। ‘सहिद सप्ताह’ मनाउन आयोजित कार्यक्रमस्थलबाट उनीहरूलाई पक्राउ गरेको सुरक्षा स्रोतले जनाएको छ। 

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–२ घर भएका २९ वर्षे विजय राजवंशी, झापाकै बुद्धशान्ति गाउँपालिका–४ का २४ वर्षे उदीप लिम्बू, इलाम फाकफोकथुम–६ का २१ वर्षे आशीष राई, फाकफोकथुम–२ का ४० वर्षे गोपी बस्नेत (विनय) र भोजपुरको अरुण गाउँपालिका–१ का ३० वर्षे अमृत मगर छन्। पक्राउ पर्नेहरू पार्टीको इलाम र झापाका जिल्ला तहका नेता–कार्यकर्ताहरू रहेको नेकपा इलामका सचिव दिपेन राईले बताए। 

‘जनयुद्ध’का सहिद दिलबहादुर रम्तेलदेखि २०२९ साल फागुन २१ मा इलामको सुखानीमा प्रहरीद्वारा मारिएका व्यक्तिका परिवारलाई सम्मान गर्न फाकफोकथुम गाउँपालिका–१ मा नेकपाले कार्यक्रम आयोजना गरेको थियो। स्थानीय विद्यालयमा कार्यक्रम आयोजना गरिए पनि त्यहाँ कार्यक्रम नगरेर एक व्यक्तिको घरमा कार्यक्रम गरिरहेका बेला उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेहरूलाई इलामस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १४ फाल्गुन २०७५ १५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App