राजनीति

दुई प्रस्तावित अध्यक्षको सुनुवाइ भोलि

काठमाडौं – संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्बाट प्रस्तावित पाँच संवैधानिक आयोगका अध्यक्षमध्ये भोलि (मंगलबार) दुईजनाको सुनुवाइ गर्ने भएको छ। आइतबार बसेको समितिको बैठकले प्रस्तावित दुई अध्यक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका शान्तराज सुवेदीको सुनुवाइ गर्ने निर्णय गरेको हो।

संवैधानिक परिषद्ले प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बैठक राखेर पाँच आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै कांग्रेसले सुनुवाइ समितिको बैठक बहिष्कार गर्दै आएको छ। कांग्रेसले आइतबारको बैठक पनि बहिष्कार गरेको छ। तर बैठकले भने आफ्नो प्रक्रिया अघि बढाइरहेको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले कांग्रेसले बैठक बहिष्कार गरेकोबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।

आइतबार समितिले प्रस्तावित अध्यक्षविरुद्धका उजुरीहरू खोलेको थियो। प्रस्तावित पाँच अध्यक्षमध्ये समिम अन्सारीविरुद्ध चार उजुरी परेका छन्। अरूलाई भने कुनै उजुरी परेको छैन। उजुरीमा अन्सारीको शैक्षिक योग्यता नक्कली भएको तथा अन्सारीले रौतहटबाट नक्कली नागरिकता लिएको उल्लेख छ। समितिले उजुरीकर्तासँग छलफल गर्ने भएको छ। उजुरीकर्तासँग छलफल भएपछि प्रस्तावित दुई अध्यक्ष पौडेल र सुवेदीको सुनुवाइ गरी बाँकी तीन जनाको सुनुवाइको मिति तोक्ने बताइएको छ।

संवैधानिक परिषद्ले आठमध्ये पाँच संवैधानिक आयोगका अध्यक्ष नियुक्तिका लागि सिफारिस गरेको हो। सिफारिस हुनेहरूमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा धनुषाका डा. विजयकुमार दत्त, थारू आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारी छन्। संविधान जारी भएको तीन वर्षपछि जम्मा पाँचवटा अयोगमा अध्यक्ष सिफारिस भएको हो। प्रधानमन्त्री स्विट्जरल्यान्ड जानुअघि बसेको संवैधानिक परिषद्को बैठकले ती आयोगका अध्यक्ष सिफारिस गरेको थियो।

प्रकाशित: ६ फाल्गुन २०७५ ०२:४५ सोमबार

संसदीय_सुनुवाइ_समिति संवैधानिक_आयोगका_अध्यक्ष सुनुवाइ