राजनीति

'सरकार संघीयता विफल पार्ने बाटोमा'

सर्लाहीमा बुधबार पश्चिम धनकौलमा आयोजित आमसभामा नेपाली कांग्रेसका उपसभाति विमलेन्द्र निधीलाई ५० किलोको माला पहिर्‍याइँदै। तस्बिर : टंक/नागरिक

सर्लाही - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कम्युनिस्ट सरकार संघीयता विफल पार्ने बाटोमा लागेको आरोप लगाएका छन्। बुधबार सर्लाहीको दक्षिणपश्चिम क्षेत्रस्थित धनकौल बजारमा सहिद दिवसका अवसरमा आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका निधीले त्यस्तो आरोप लगाएका हुन्।

‘कम्युनिस्टको सिद्धान्त अनि डिस्नेरीमा संघीयता, प्रजातन्त्र, संसदीय व्यवस्था जस्ता कुरा हुँदैनन्,’ उनले भने, ‘अहिलेको दुईतिहाइ सरकारको व्यवहारले मुलुकमा स्थापित भइसकेका ती सबै कुरा विफल बनाउन लागिपरेको प्रष्ट पारिसकेको छ।’ हजारौं सहिदको बलिदानीले प्राप्त अधिकारमाथि दुईतिहाइको सरकारले खेलबाड गरिरहेको समेत उनको आरोप थियो। दुईतिहाइको दम्भमा यस्तै रवैया देखाइरहे यो सरकारलाई जनताले फाल्नेसमेत निधीले चेतावनी दिए। पछिल्लो समय कालोबजारी, महँगी अत्यन्त बढेको उल्लेख गर्दै वर्तमान कम्युनिस्ट सरकार किसान, मजदुर, महिलामाराको रूपमा काम गरिरहेको उनले आरोप लगाए। ‘वर्तमान सरकार बलात्कारी र अपराधीको पक्षमा मात्र देखिएको छ,’ उनले आरोप लगाए, ‘शासन सत्ता सम्हालेको १२/१३ महिनाको अवधिमा आम नेपाली जनताको आकांक्षाविपरीत सरकार अगाडि बढिरहेको छ।’

त्यस्तै वर्तमान संघीय सरकार मधेस र मधेसी जनताविरुद्ध लागिपरेको र प्रदेश २ को सरकारसमेत त्यसैको पुच्छर बनिरहेको निधीको आरोप थियो। ‘मधेस र मधेसी जनताको मात्र हैन आम नेपाली जनताको हक अधिकारसहित विकास निर्माणका लागि एकतन्त्रीय जहानीय राणा शासन, निरंकुशता, सशस्त्र माओवादी संघर्ष, संविधान निर्माणलगायत अधिकारमुखी परिवर्तनको अगुवाइ गरिसकेको कांग्रेसको विकल्प छैन,’ उनले भने, ‘तानाशाही ढंगले अगाडि बढ्ने कम्युनिस्टहरूबाट मुलुक र नेपाली जनताको कहिल्यै हित हुँदैन।’

दुईतिहाइको दम्भमा संसदीय मर्यादाविपरीत संसद्बाट जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गराएको, निर्मला हत्याकाण्ड, बढ्दो महँगी, अपराधलगायतको विरोधमा पार्टीले आगामी माघ २१ गते ७५ जिल्लामै विरोध प्रदर्शन आयोजना गरेको उल्लेख गर्दै उपसभापति निधीले आगामी दिनमा सडक र सदन दुवै ठाउँमा कांग्रेसले सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने जानकारी दिए। कांग्रेस जिल्ला सभापति नागेन्द्रकुमार रायको अध्यक्षता रहेको आमसभामा पार्टीका केन्द्रीय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादव लगायत नेताहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा उपसभापति निधीलाई ५० किलोको फूलको माला एवं दोसल्ला पहिर्‍याएर अभिनन्दन गरिएको थियो। कार्यक्रममा नेकपा, राजपा र फोरमबाट सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए।

प्रकाशित: १७ माघ २०७५ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App