राजनीति

शहीद परिवारकाे गुनासाे : नेताको कुर्सी सुरक्षित भयो, हाम्राे गाँस सुरक्षित भएन

शहीद यमलाल लामिछानेका जेठा छोरा देवीराम । तस्बिर : निर्मल/नागरिक

बर्दिया– १९ दिने जनआन्दोलनका शहीद गुलरिया नगरपालिका यमलाल लामिछानेका जेठा छोरा देवीरामलाई दिन बित्दै जाँदा शहीदको सपना पूरा नहुने कुराले चिन्तित तुल्याएको छ। देश र जनताको लागि बलिदानी दिएका लामिछाने परिवारलाई राज्यबाट अवमूल्यन भएको उनी बताउँछन्। ‘जन आन्दोलन पछि देशमा धेरै द्वन्द्व भएसँगै व्यवस्था पनि परिवर्तन भयो’, उनी भन्छन्, ‘आन्दोलनमा शहीद भएका परिवारलाई राज्यले बिर्सियो, शहीद परिवारको भविष्य अन्यौल छ।’ नयाँ नयाँ शहीद थपिँदा वास्तविक शहीदको अवमूल्यन भइरहेको उनको बुझाई छ।

राज्यले सम्मान नदिँदा शहीद परिवारको नाता पनि तोडिन थालेको उनी बताउँछन्। ‘परिवारलाई राज्यबाट दिइने सम्मानको खाँचो छ’, उनले भने, ‘राज्यको कुनै पनि निकायले खोजी नगर्दा दुःख लाग्छ।’ ४ दाजु भाई र तीन दिदी बहिनीले राज्यबाट दिने  सेवा सुविधाबाट बन्चित रहेको उनले गुनासो गरे। रोजगारी र व्यवसायको लागि दिने भनिएको लगानी पनि आश्वासनमा मात्र सीमित भएको उनी बताउँछन्।

आन्दोलनको सातौ दिनमा गुलरिया नगरपालिकाको राधा कृष्ण चोकमा सुरक्षाकर्मी चलाएर गोली लागि घाइते भएका लामिछानेको भारतको लखनउमा उपचारको क्रममा उनलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। 

राधाकृष्ण चोक सम्म पुग्नको लागि ५१ बर्षीय यमलाल लामिछाने  खैरापुरबाट निस्केको जुलुसमा मिसिएका थिए ।

प्रदर्शनमा उत्रेका सातौ दिनमा एक्कासी सुरक्षाकर्मीले चलाएको पहिलो गोलीबाटै लामिछाने सडकमा ढलेका थिए। ‘हामी सडक किनारामा पुग्दा गोली चल्यो, त्यो गोली बुवालाई लागेको रहेछ’, यमलालका जेठा छोरा देबीरामले घटना सम्झिदै  भने, ‘गोली लागेपछि रेडक्रसको सहयोगमा बुवालाई नेपालगञ्ज पुर्याएका थियौं।’

उनका अनुसार नेपालगञ्जमा उपचार संम्भव नभएपछि भारतको लखनउमा पुराएको केही घन्टामा मृत्यु भएको थियो। १० बर्षअघि आमा गुमाएका देवीरामले बुवा यमलाललाई गुमाउँदा परिवारमा ठूलो बज्रपात परेको थियो।

बुवा बितेपछि देवीरामले घर खर्च चलाउनु समस्या भइरहेको उनी बताउँछन्। भाई बहिनीको खर्च धान्न हम्मेहम्मे पर्दा हेरिदिने कोही नभएकोमा दुःखी भएको उनले बताए। देश र जनताको लागि ज्यान गुमाए पनि शहीद परिवारको सम्मानको अनुभूति नगरेकोे उनले गुनासो गरे।

यमलाल शहीद भएको केही बर्ष परिवारलाई भेट्न केही नेता आए पनि आश्वासन मात्र पाएको  उनले सुनाए। १० बर्षदेखि कोहीले सोधपुछ नगर्दा शहीद परिवार प्रताडित भएको उनी बताउँछन्। ‘व्यवस्था परिवर्तनले नेताको कुर्सी सुरक्षित भयो’, उनी भन्छन्, ‘शहीद परिवारको राज्यले गास सुरक्षित गर्न सकेन।’ ‘शहीद छोरा भनेर भेट गर्न जाँदा समेत वास्ता गर्देनन्’, देवीराम भन्छन्, ‘नेताले नै त्यस्तो व्यबहार गरेको देख्दा चित्त दुख्छ।’ 

देश र जनताको लागि शहीद बनेका परिवारको यहि हालत गुज्रिएको भन्दै उनले दुःख व्यक्त गरे। यमलाल एमालेको सक्रिय कार्यकर्ता भनेर परिचित थिए। तर, एमालेको सरकार हुँदा समेत राज्यबाट सम्मानजनक व्यवहार नपाएकोमा उनी आक्रोशित छन्। 

‘बुवा एमालेको सबै कार्यक्रममा सहभागी हुनहुन्थ्यो’, उनले भने, ‘एमाले पार्टीको सूचीमा पहिलो शहीद भने पोष्टरमा टाँगिएको छ। त्यसबाहेका पार्टीको नेता अहिले दुःख सुख सोध्न आएका छैनन्।’ अभिभावक गुमेपछि पीडा शहीद परिवारमा बल्झदै गएको छ। जसलाई पनि शहीद घोषणा गर्ने प्रवृति सच्चा शहीद परिवारको अवमूल्यन भएको उनको बुझाई छ।

प्रकाशित: १५ माघ २०७५ १२:२४ मंगलबार

शहीद_दिवस नेताको_कुर्सी गाँस