राजनीति

राजनीतिक जीवन समाप्त पार्न आफूमाथि दुर्व्यवहार सहितका प्रचारबाजी गरियो : मुख्यमन्त्री राई

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई । तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक सञ्जालमा आफूविरुद्ध केही शक्ति र व्यक्तिले भ्रामक सन्देशलाई भाइरल बनाएर आफ्नो राजनीतिक जीवननै समाप्त पार्ने दुश्प्रयास गरेको बताएका छन्। मुख्यमन्त्री राईले गलत प्रचारको पछि नलाग्न आग्रह गरेका छन्।

राईले आफू सत्यको पक्षपाती भएको भन्दै आफूविरुद्ध लक्षित प्रचारलाई कपोकल्पितको संज्ञा पनि दिएका छन्। पूर्वी नेपालको प्रमुख व्यापारीक नाका ओलाङ्चुङगोलाको स्थलगत भ्रमणपछि शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीसँग कुरागर्दै मुख्यमन्त्री राईले खोँचे थापेर आफ्नो राजनीतिक जीवन धमिल्याउन दुर्व्यवहार सहितका प्रचारबाजी गरेको बताए।

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मुख्यमन्त्री राईविरुद्ध यौन दुर्व्यवहारसम्मका आरोप भाइरल बनेका छन्। राईले गलत प्रचार गरेर राजनीतिक जीवन समाप्त पार्ने शक्ति को हो भनेर खुलाउन चाहेनन्। स्थलगत अवलोकन भ्रमणपछि राईले ओलाङ्चुङगोला र टिपताला प्रदेश सरकारको उच्च प्राथमिकतमा परेको सुनाए।

अहिलेसम्म संघिय सरकारको प्राथमिकतामा संखुवासभाको किमाथाङ्का नाका रहेकोमा यो भ्रमणबाट ओलाङचुङगोलाको प्राथमिकतमा र महत्व बढेको मुख्यमन्त्री राईको भनाई थियो। दक्षिण एसियाकै प्रमुख व्यापारीक नाका सिगात्छेबाट सबैभन्दा नजिक कारोवार गर्न सकिने नेपालको सबैभन्दा छोटो व्यापारीक नाका ओलाङ्चुङगोलालाई लिने गरिन्छ। सिगात्छेबाट तिब्बतको रिउ बजार ६५ किलोमिटर, रिउबाट ओलाङ्चुङगोला ३० किलोमिटर र ओलाङ्चुङगोलाबाट ताप्लेजुङ सदरमुकाम ९२ किलोमिटर टाढा छ। यो दुरीका हिसाबले सिगात्छेबाट नेपालको सबैभन्दा कमदुरीको नाका टिपताला आइपुग्न ९० किलोमिटर हाराहारीको दुरी मात्र रहेको छ।

मुख्यन्त्री राईले सामरीक र व्यापारीक दुबै किसिमबाट नेपालको सबैभन्दा महत्वपूर्ण व्यापारीक नाका ओलाङचुङगोलाको विकासमा स्थानीय,प्रदेश र संघीय सरकारको प्राथमिकता उच्च हुनुपर्ने समेत औंल्याए। ‘यो विषयमा संघिय सरकार समक्ष समेत औपचारिक प्रस्ताव लगिने छ,’उनले भने। मुख्यमन्त्री राईले आइतबारबाट सुरु हुने प्रदेश समन्वय परिषद्को बैठकमा तीन तहका सरकार र ति सरकारका बीचको समन्वयबाट पूरा गर्न सकिने संघियता कार्यान्वयन मुख्य एजेण्डा हुने बताए।

उनले संघीय सरकारले प्रदेश र स्थानीय सरकारका लागि चाहिने कर्मचारी व्यवस्थापनमा देखाएको उदासिनता प्रति ७ वटै प्रदेश सरकारका तर्फबाट मूल प्रस्ताव पेश हुनेपनि जनाएका छन्। उनले प्रदेश सञ्चालनका लागि चाहिने आवश्यकिय क्षमताका लागि संघिय सरकारले प्रदेश सरकारलाई मार्ग प्रशस्त गर्ने विश्वास लिएका छन्। आउँदो पुष दोस्रो साता भित्रमा प्रदेशसभाको बैठक बोलाउने कार्ययोजना तयार भएकोले प्रदेश समन्वय परिषद्को बैठक लगत्तै प्रदेशको स्थायी राजधानी र नामाङ्कन टुङ्ग्याउने गरी योजना अघि बढेको उनको भनाई थियो।

यसअघिको प्रदेशसभाको बैठकमा प्रदेशको स्थायी राजधानी र नाम हिउँदे अधिवेशनबाट टुङ्ग्याउने सहमति बनेकोले यो अधिवेशनले विगतको त्यो कार्यभार पूरा गर्ने उनको दावी थियो। मुख्यमन्त्री राईका साथ ताप्लेजुङबाट संखुवावासभाबाट निर्वाचित प्रतिनिधिसभाका सांसदद्धय योगेश भट्टाई र राजेन्द्र गौतमसहित ताप्लेजुङ, संखुवासभा र भोजपुरबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य तथा १ नं प्रदेश सरकारका प्रमुख सचिव र प्रदेश सुरक्षा अधिकारीको सहभागिता थियो।

प्रकाशित: २१ मंसिर २०७५ ०९:४८ शुक्रबार

प्रदेश_नम्बर_१ शेरधन_राई राजनीतिक_जीवन गलत_प्रचार