राजनीति

निर्मला हत्या प्रकरण : सिडिओ कार्यालयअघि कालाेपट्टी बाँधेर सडकमै सुते अधिकारकर्मी र कलाकार

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा परिवारसँगै कलाकारले पनि ऐक्यबद्धता जनाएका छन्। प्रशासन प्रवेशद्वार अगाडि नागरिक समाजले हातमा कालो पट्टी बाँधेर, सडकमा सुतेर गरेको विरोध प्रदर्शन तथा धर्नामा कलाकारले पनि सहभागिता जनाएका छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले मंगलबार निर्मलाको हत्या विरोधमा जारी धर्नामा सहभगिता जनाएको हो। प्रतिष्ठानकी कञ्चनपुर अध्यक्ष संगिता शाहीले यति लामो समयसम्म पनि एक बालिका बलात्कार र हत्याको दोषी पत्ता नलाग्नु विडम्बना भएको बताइन। उनले चाँडै यस घटनाका दोषी सार्वजनिक गर्नु पर्ने माग स्वरुप कलाकार धर्नामा सहभागी भएको स्पष्ट पारिन।

प्रतिष्ठानकी उपाध्यक्ष सरस्वती जिसीले न्याय नपाउँदासँम्म आन्दोलनमा सहभागिता रहने बताइन। त्यस्तै प्रतिष्ठानका लाल बहादुर धामीले जिल्ला, क्षेत्र र केन्द्रीय स्तरबाट यो आन्दोलनमा ऐक्यबद्धता जनाएको बताए। ‘यो एकदमै लज्जास्पद कुरा हो, त्यहि भएर न्यायका लागि कलाकार पनि धर्नामा सहभागी भएका हुन’, उनले भने।

निर्मलाका बुबा यज्ञराज र आमा दुर्गा काठमाडौं भएका बेला यहाँ निर्मलाकी कान्छी आमा लक्ष्मीको नेतृत्वमा अधिकारकर्मीले २४ घण्टे धर्ना दिदैं आएका छन्।

यसैबीच संघर्ष समितिले चार दिनसम्म बिहान ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन अगाडि विरोध प्रदर्शन गर्ने जनाएको छ। भीमदत्त नगरपालिका २ की १३ वर्षीय बालिका निर्मलाको न्यायको माग गर्दै कञ्चनपुरका महिला अधिकारकर्मीले आन्दोलनको स्वरुप परिवर्तन गरेका छन्। निर्मलाको न्यायका लागि पीडित परिवारले सुरु गरेको अनिश्चितकालिन धर्नामा बस्दै आएको नागरिक संघर्ष समितिले आन्दोलनको स्वरुप परिवर्तन गरेको हो।

निर्मलाको न्यायका लागि सरकारलाई दबाब दिन आन्दोलनको स्वरुप परिवर्तन गरिएको महिला अधिकारकर्मी तथा संघर्ष समितिकी सदस्य शारदा चन्दले बताइन। उनले दुई दिन ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको अगाडि कालो पट्टी बाँधेर विरोध जनाउने, १९ गते दिउँसै टर्च तथा लाल्टिन बालेर प्रदर्शन गर्ने र २० गते मानव साङ्लो बनाएर प्रदर्शन गर्ने बताइन।

चन्दका अनुसार २० गतेसम्म नयाँ तरिकाको आन्दोलनबाट सरकारलाई दबाव दिइनेछ। सरकारले आफूहरुको मागको बेवास्ता गरे सबै पक्षसँग पुनः छलफल गरेर आन्दोलनका कार्यक्रम तय गरिने उनले बताइन।

साउन १० गते वेपत्ता भएकी निर्मलाको दोस्रो दिन घर नजिकैको उखुबारीमा शव फेला परेको थियो। यस घटनाको छानविन गर्न चार वटा उच्चस्तीय आयोग आएपनि चार महिना नाघ्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन।

देशव्यापी रुप लिएको यस घटनापछि महेन्द्रनगर सहरका हरेक चोकमा निर्मलाको न्यायका लागि भन्दै पोष्टर छापिएका छन्। जिल्ला प्रशासनको प्रवेशद्वार पनि निर्मलाका पोष्टरले भरिएको छ।

प्रकाशित: १८ मंसिर २०७५ १२:०२ मंगलबार

निर्मला_पन्त विरोध_प्रदर्शन सिडिओ_कार्यालय