राजनीति

फोरम सांसद भन्छन्, ‘हामी जागिर खान सरकारमा गएका होइनौं’

काठमाडौं– सत्तारुढ संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले आफ्नो पार्टी संविधान संशोधनको लागि नै सरकारमा गएको स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लबमा उनले भने, ‘हामी जागिर खान सरकारमा गएका होइनौं। तर, संविधान संशोधनको लागि दबाब दिइरहेका छौं। अहिले हडबड गर्दैनौं। सरकारलाई दबाब दिन कुनै कसर बाँकी राख्दैनौं।’

अब पनि संविधान संशोधन नभए आफ्नो पार्टी एक मिनेटपनि सरकारमा नबस्ने उनले स्पष्ट पारे। उनले भने, ‘संविधान संशोधन चाँडो हुनुपर्छ। ऋब पनि भएन भने हामी सरकारबाट बाहिरिएर शान्तिपूर्ण तर दबाबमूलक आन्दोलनमा जान्छौं।’

राष्ट्रपतिलाई गाडी खरिद गर्ने प्रकरणबारे आफूहरुले महँगो गाडी नचढ्न राय दिएको उनले बताए। उनले भने, ‘गरिब देशलाई यत्रो महँगो गाडी किन चाहियो?’

यादवले सांसदहरु टेम्पो र माईक्रो बस चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई चाहीँ किन महँगो गाडी चाहियो भन्दै प्रश्न गरे। उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि पनि महँगो गाडी खरिद गर्ने कुरा राम्रो होइन, हाम्रो राय भनेको महँगो गाडी खरिद गर्नुहुँदैन भन्ने नै हो।’

उनले महंगो गाडी खरिद गर्नेबारे हडबडमा निर्णय भएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने पनि सुझाव दिए।

प्रकाशित: ९ मंसिर २०७५ १४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App