राजनीति

सीमा सुरक्षा ‘मुख्य चुनौती’

सन्दकपुरनजिकै आहालटारमा रहेको नेपाल–भारत सीमास्तम्भ। तस्बिर : भीम/नागरिक

इलाम - पूर्वी नेपालमा भारतसँग जोडिएको सीमा क्षेत्र जिल्लाको प्रमुख सुरक्षा चुनौती देखिएको छ। नेपाल–भारत सीमास्तम्भहरूको सुरक्षा र त्यहाँ भइरहने आपराधिक गतिविधि मुख्य चुनौतीका रुपमा देखिएका छन्।

सीमा क्षेत्र सुरक्षाकै लागि जिल्लामा सशस्त्र प्रहरी बलका एकाइ बढाइँदैछ, भएका एकाइको स्तरोन्नति गरिएको छ। सदरमुकामस्थित श्रीअन्तु गुल्मलाई अहिले सशस्त्र प्रहरी बल, गण हेडक्वार्टर इलाम नम्बर १ मा रुपान्तरण गरिएको छ। भारतीय सीमा क्षेत्र पशुपतिनगरमा नयाँ बोर्डर अब्जरभेसन पोस्ट (बिओपी) राखिँदैछ। सीमाकै मानेभञ्ज्याङ, छब्बिसे र सन्दकपुरमा नयाँ बिओपी थप्न जिल्लाले माथिल्लो निकायमा प्रस्ताव गरिसकेको छ।

नेपाल–भारत सीमास्तम्भहरूको सुरक्षा र त्यहाँ भइरहने आपराधिक गतिविधि मुख्य चुनौतीका रुपमा देखिएका छन्।

जिल्लामा भर्खरै सरुवा भएर आएका सशस्त्र प्रहरी बलका गणपति एसपी विदुर खड्काले सीमास्तम्भ सुरक्षा नै अहिले इलामको प्रमुख चुनौती भएको बताए। ‘सीमास्तम्भ सुरक्षा र सीमानामा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि धमाधम सीमामै बिओपी राखिँदैछन्,’ उनले भने, ‘जिल्ला सुरक्षा समितिले ४ स्थानमा बिओपी राख्ने प्रस्ताव गरेकोमा एउटाचाहिँ सरकारबाट स्वीकृत भएको छ, अरू प्रक्रियामा छन्।’ गत जेठ २७ को मन्त्रिपरिषद् बैठकले साउन १३ देखि इलामस्थित सशस्त्रको गुल्मलाई गण बनाउने निर्णय गरेको थियो। गणमा ६ सय २१ जनाको दरबन्दी छ । बिओपीमा इन्स्पेक्टरको कमान्डमा ३५ जना रहनेछन्।

इलामको ५२ किलोमिटर भारतसँग जोडिएको छ। २०६४ सालको संविधानसभा निर्वाचनताका भारतले सुरक्षाका लागि भन्दै ३–३ किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को बिओपी राखेको थियो। भारतले कतिपय स्थानमा दशगजाभित्रै पनि एसएसबी क्याम्प राखेको छ। नेपालतर्फ भने सीमाभन्दा निकै टाढा असईको नेतृत्वमा ६ जना रहेको प्रहरी चौकीबाहेक कुनै सुरक्षा संयन्त्र थिएन। ‘पूर्वीसीमामा हरेक १३ किलोमिटरमा सशस्त्र प्रहरीको बिओपी राख्ने सरकारको योजना छ,’ सशस्त्र प्रहरीका डिएसपी प्रेम प्रसाईंले भने, ‘दशगजाभन्दा बढीमा ५ सय मिटर नजिक बिओपी राखिने छन्।’ भौगोलिक कठिनाइका कारण त्योभन्दा नजिकको दूरीमा बिओपी राख्न समस्या परेको उनले बताए।

सरकारको निर्णयअनुसार पशुपतिनगरमा केही दिनमै बिओपी स्थापना गरिँदैछ। त्यसपछि क्रमशः मानेभञ्ज्याङ, छब्बिसे र सन्दकपुरमा बिओपी राखिने सशस्त्र प्रहरीले जनाएको छ। ‘सीमा सुरक्षा र त्यहाँ हुने गरेका सबैखाले अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल विस्तार गरिएको हो,’ एसपी खड्काले भने, ‘जिल्लाको चेन अफ कमान्ड मजबुत बनाउने, विपद् व्यवस्थापनलाई बलियो पार्ने, सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण बनाउने उद्देश्यले एकाइहरूको स्तरोन्नति र थप एकाइ स्थापना गर्न लागिएको हो।’

नापी विभागबाट गत कात्तिकमा आएको टोलीले स्थलगत अध्ययन र जाँच गरी भारतले केही स्थानमा दशगजा क्षेत्र मिचेर संरचना बनाएको पत्ता लगाएको थियो। दशगजामा सीमास्तम्भको दुवैतिर ३०–३० फिटको भूभागमध्ये भारततर्फको भागमा संरचना बनेको टोलीको भनाइ थियो। पशुपतिनगर नजिकैको दशजगामै भारतले कस्टम अफिस, पुलिस चौकी र अन्य ४–५ घर–टहरासमेत बनाइसकेको टोलीले पाएको थियो। भारतले ७१/६, ७१/७ र ७१/८ नम्बर सीमास्तम्भभित्रको क्षेत्रमा संरचना निर्माण गरेको र गुम्बा बनाएको पाइए पनि गुम्बा निर्माण रोकिएन। केही वर्षअघिकै अध्ययनले पूर्वको मानेभञ्ज्याङदेखि जिर्मलेसम्म ४५ सीमास्तम्भ गायब भएको देखाएको थियो।

सीमा सुरक्षाका लागि पूर्वमा भारतसँग जोडिएका इलाम, पाँचथर, ताप्लेजुङ र झापाका सुरक्षा निकाय तथा भारतीय समकक्षीको पटक–पटक बैठक बस्ने गरेको छ। तर, भारतीय पक्षले चाहिँ दशगजामा भौतिक संरचना निर्माण रोकेको छैन। जैविक विविधतामा संवेदनशील र पर्यटकीय हिसाबले महत्वपूर्ण नेपाली गाउँमा सुरक्षा निकाय उपस्थिति ज्यादै पातलो भएकाले पनि सीमा क्षेत्र असुरक्षित भएको हो। भारतीय भूमि छोएको जिल्लाको सन्दकपुरदेखि जिर्मलेसम्मको दूरीमा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन्।

सीमापछि राजनीतिक र विपद् व्यवस्थापनलाई दोस्रो र तेस्रो चुनौतीका रूपमा लिइएको छ। पछिल्लो समय नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको गतिविधिप्रति सशस्त्र प्रहरी चनाखो रहेको एसपी खड्काले बताए। ‘उनीहरू (चन्द नेतृत्वको नेकपा) को रणनीति जिल्लामा संगठन विस्तार र भौतिक संरचनामा क्षति पु(याउने रहेकाले सशस्त्र प्रहरी चनाखो छ,’ उनले भने, ‘राजनीतिक रूपले अरू चुनौतीचाहिँ छैन।’ नेकपाका कार्यकर्ताले शनिबार जिल्लाकै देउमाई नगरपालिका–१, चमैतामा नेपाल प्रहरीको मोटरसाइकल तोडफोड गरेका थिए।

प्रकाशित: २२ आश्विन २०७५ ०१:१५ सोमबार

सीमा_सुरक्षा इलाम