राजनीति

कांग्रेस बैठक आज

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विधान टुंगो लगाउन केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबारका लागि बोलाइएको बैठकले नेपाल विद्यार्थी संघको विधान पारित गर्ने छ।

पार्टीले संघको विधान अनुमोदन नगर्न १२ औं महाधिवेशनको पूर्वर्निधारित कार्यातालिका प्रभावित भएको छ। कात्तिकमा गर्ने भनिएको १२ औं महाधिवेशन नै अन्योलमा परेको छ। पार्टी सहमहामन्त्री प्रकाशशरण महतले केन्द्रीय समिति बैठकले संघको विधान पारित गर्नुको साथै समसामयिक विषयमा पनि छलफल हुने जानकारी दिए। ‘मुख्य विषय विद्यार्थी संगठनको विधान टुंगो लगाउनु हो,’ महतले भने, ‘अन्य विषयमा पनि छलफल हुनेछ।’

आइतबारको बैठकमा पनि पार्टीको केन्द्रीय अनुशासन समिति गठनको विषयले प्रवेश नपाउने भएको छ। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच सहमति जुट्न नसक्दा समिति गठन नहुने भएको छ। दुई पक्षबीच समितिको संख्या र संयोजकमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको बैठक पटक पटक अनिणित बन्दै आएको छ।

बैठकमा पार्टीको विधान मस्यौदा समितिले देशका विभिन्न १२ ठाउँमा गरेको छलफल र त्यसबाट आएका सुझावलाई केन्द्रीय समिति बैठकलाई जानकारी गराउने छ। सभापतिको अधिकार खुम्च्याउँदा संगठन सञ्चालनमा समस्या परेको भन्दै अधिकांश स्थानबाट अधिकार थप गर्नुपर्ने सुझाव आएका छन्। तर, पार्टीका केही प्रभावशाली नेताहरु भने सभापतिको अधिकार बढाउन नहुने लबिङमा जुटेका छन्। सभापतिको अधिकार थप गर्ने वा नगर्ने विषयले पनि केन्द्रीय समितिको आगामी बैठकमा प्रवेस पाउने छ।

त्यसका साथै कञ्चनपुरकी निर्मला पन्त देखि देशको विभिन्न ठाउँमा हत्या, बलत्कार जस्ता घटना बढी रहँदासमेत सरकारले दोषीलाई पत्ता लगाउन असफल भएको निष्कर्षमा पुगेको कांग्रेसले महंगी, भ्रष्ट्राचार जस्ता विषयमा पनि आफ्नो धारणा बाहिर ल्याउने छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आन्तरिक संगठन र समग्र राजनीतिक अवस्थाका विषयमा छलफल हुने जानकारी दिए।

प्रकाशित: २१ आश्विन २०७५ ०१:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App