राजनीति

आत्मनिर्भर कर्णालीलाई परनिर्भर बनाइयोः मुख्यमन्त्री शाही

जुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले परनिर्भर बनाइएको बताएका छन्। शनिबार स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

“आर्थिक, भौगोलिक र प्राकृतिक रूपमा केन्द्रविन्दुका रहेको कर्णाली उतिबेला नुनबाहेक सबै कुरामा आत्मनिर्भर थियो”, मुख्यमन्त्री शाहीले भने, “आज विभिन्न सहयोगका नाममा मगन्ते बनाइएको छ।” साझेदार संस्थाहरूबाट उत्पादन बढाउने भन्दा पनि आशामा बाँच्ने खालका कार्यक्रम सञ्चालन गरिँदा, भ्रष्टाचार र दलाल संस्कृतिको विकास हुँदा कर्णाली परनिर्भर बनेको उनले आरोप लगाए। उनले अगाडि भने, “गैसस र भ्रष्टाचारलाई नियन्त्रण सके मुलुकको समृद्धि र विकासको सपना पूरा हुन्छ।”

एक फरक प्रसङ्गमा उनले चीन भ्रमण तथा अन्य अन्तर्राष्ट्रिय लगानीकर्तासँग भएको समझदारीअनुसार कर्णालीको सडक र विद्युत् निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उल्लेख गरे। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश विकासको ऐतिहासिक सङ्कल्प पूरा गर्न लिएको जिम्मेवारीअनुसार कर्णाली प्रदेशको अहिलेको परिचय बदल्ने प्रतिबद्धता व्यक्त गरे। (रासस)

 

प्रकाशित: २० आश्विन २०७५ १०:२६ शनिबार

कर्णाली_प्रदेश मुख्यमन्त्री आत्मनिर्भर