राजनीति

आइजिपी हटाउने खेल सुरु

काठमाडौं - नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ। आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका हुन्। तत्कालीन एमाले निकट अखिल अध्यक्ष नवीना लामा र तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमा भेट गरी आइजिपी खनाललाई हटाउन दबाब दिएका हुन्। सांसदसमेत रहेकी लामा र अध्यक्ष तामाङले विगत केही समयदेखि आइजीपी खनाललाई हटाउनुपर्ने हल्ला चलाउँदै आएका छन्।

लामा र तामाङले प्रहरी प्रमुख खनाललाई हटाउन माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका थिए । ‘जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउन असक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गरियोस्’, ज्ञापनपत्रमा उल्लेख छ।

तत्कालीन एमाले निकट अखिल अध्यक्ष नवीना लामा र तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमा भेट गरी आइजिपी खनाललाई हटाउन दबाब दिएका हुन्।

आइजिपी हटाउन दबाब दिने अध्यक्ष लामा र तामाङको कार्यशैलीको संगठनभित्रै विरोध भएको छ। दुवै नेता संगठनको विधि र प्रक्रिया मिचेर आइजिपीको राजीनामा माग्दै हिँडेको आरोप संगठनका अन्य पदाधिकारीले लगाएका छन्। तत्कालीन एमाले निकट अखिलका महासचिव ऐन महरले भने, ‘संगठनको कुनै पनि निकाय र तहमा छलफल नभई अध्यक्ष एकल स्वार्थका आधारमा आइजिपी हटाउनुपर्छ भन्दै गृहमन्त्रीकहाँ पुग्नु भएछ, त्यो संगठनको निर्णय होइन।’

यसबारे संगठनको स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीमा कुनै पनि प्रकारको छलफल भएको नभएको जानकारी उनले दिए। ‘कसैको व्यक्तिगत स्वार्थ होला, संगठनको निर्णय र धारणा होइन’, महासचिव महरले भने, ‘यही सरकारले नियुक्ति गरेको कर्मचारी हटाउनु भनेको सरकारको विकल्प खोज्नु हो।’

तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष दीपेश पुनले संगठनका कुनै पनि तहमा छलफल नभएकाले यस्ता विषय सरकारविरुद्ध भएको बताए। उनले भने, ‘आज आइजिपीको राजीनामा माग्ने, भोलि कुनै सचिवको राजीनामा माग्ने, पर्सि पियनको राजीनामा माग्दै हिँड्ने चरित्र र व्यवहार तथा नीति अखिलको होइन। हामी एकीकरण तयारीमा भएका बेला कोही कसैले धमिलो पानीमा माछा मार्न खोजिरहेको छ।’

आइजिपी खनाललाई बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेको टोलीलाई गृहमन्त्री थापाले निर्मला पन्त हत्याका सम्बन्धमा मन्त्रिपरिषद्बाट गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने बताएका थिए । गृहमन्त्री थापाले प्रहरी निर्मलाका हत्यारा नजिकै पुगेको भन्दै अबको केही दिनमै हत्यारालाई कानुनी दायरामा लाउने विश्वास दिलाएका थिए। तर आइजिपीलाई बर्खास्त गर्ने विषयमा उनले कुनै प्रतिक्रिया दिएनन्।

आइजिपी बर्खास्त गर्नुपर्ने यस्तो छ कारण
काठमाडौं उपत्यकामा हुने गरेका शृंखलाबद्ध अपराधका घटनामा संलग्न सत्यमान लामालाई महानगरीय परिसर काठमाडांैले पक्राउ गरेपछि उनलाई छुटाउन सांसद नवीना लामा परिसर पुगेकी थिइन्। परिसरका तत्कालीन प्रमुख एसएसपी विश्वराज पोखरेलले सत्यमानलाई जिल्ला प्रशासन कार्यालयमा पठाएपछि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी केदारप्रसाद शर्माले सांसद लामाकै जिल्लामा लगाएर सत्यमानलाई छाडिदिएका थिए। विगतमा रक्तचन्दन तस्करी संलग्न सत्यमान पछिल्लो समय बुद्धचित्तको अवैध कारोबार र गुण्डागर्दीमा संलग्न थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट छुटेपछि सत्यमानलाई महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले अवैध डलर कारोबार आरोपमा पक्राउ गरे। सत्यमान पक्राउ परेपछि नवीनाले आइजिपी खनाललाई फोन गरेर छोडिदिन आग्रह गरेकी थिइन्। तर महाशाखाले नै सत्यमानलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि समय लिएपछि उनी आइजिपी खनालसँग रिसाएकी थिइन। सत्यमान १७ दिनको प्रहरी हिरासतपछि जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका थिए।

सत्यमानले काठमाडौं महाराजगन्ज चुनदेवी क्षेत्रमा हप्ता असुली गर्ने, गुण्डागर्दी गर्ने, म्यानपावरका सञ्चालकलाई धम्क्याउने कार्यमा संलग्न रहँदै आएको प्रहरीको आरोप छ। त्यस्तै उनीमाथि काभ्रेका ग्रामीण बस्तीमा बुद्धचित्तको रूख कब्जा गर्ने र नदिनेहरूलाई मार्ने धम्की दिने गरेको आरोप छ। अखिल अध्यक्ष लामाले विगतदेखि नै सत्यमानको संंरक्षण गर्दै आएकी छन् भने अहिले अर्का विद्यार्थी नेता तामाङसमेत त्यसमा सहभागी भएका छन्।

प्रकाशित: १९ आश्विन २०७५ ००:४० शुक्रबार

आइजिपी सर्वेन्द्र_खनाल नेपाल_प्रहरी