राजनीति

पत्रिका जलाउने गिरोह अझै पक्राउ परेन, पत्रिका जलाएकोमा चौतर्फी बिरोध

धनगढी – तेघरी जंगलमा राजधानी बनाउदाँ जैविक मार्ग अवरुद्ध हुने, चुरे बिनास हुने र पानीको भण्डारण रहेको भावरक्षेत्र जोखिममा हुने लगायतका समाचार प्रकाशितको बिरोधमा बुधबार अत्तरियामा नागरिक दैनिक लगायतका पत्रिका जलाउने गिरोह अझै पक्राउ परेको छैन। बुधबार बिहान ६ बजेतिर अत्तरियामा पुगाइएका पत्रिका कब्जा गरेर ५ जनाको समूहले पेट्रोल छर्केर जलाएको थियो। गिरोहले नागरिकसँगै कान्तिपुर, काठमाण्डौं पोष्ट र अन्नपूर्ण पोष्ट दैनिक लगाएका पत्रिका जलाएकाे थियाे।  

पत्रिका जलाएपछि उक्त कदमको सर्वत्र बिरोध भएको छ। सर्वत्र विरोध भएपनि प्रहरीले भने अहिलेसम्म दोषिलाई पक्राउ गर्न सकेको छैन। नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्टले बिज्ञप्ती जारी गर्दै जनतालाई सुसूचित गराउने गराउने भरपर्दो माध्यमको रुपमा रहेको पत्रिकालाई जलाउनु संविधान बिपरित भएको र प्रेस स्वतन्त्रामाथि आक्रमण भएको भन्दै घोर भत्सना गरेका छन्। उनले घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्। 

यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश समिति र नेपाल पत्रकार महासंघ कैलाली शाखाले पनि बिज्ञप्ती निकाल्दै पत्रिका जलाएको घटनाको निन्दा गर्दै देषीलाई कारवाहीको माग गरेका छन्। संसद्मा बोल्दै नेकपाकी सासंद् पूर्णा जोशीले पत्रिका जलाएकाेमा बिरोध गरेकी छन् । ‘बिचारमा असहमती भए बिचार बाटै खण्डन गरिनुपर्छ, पत्रिका जलाएर बिचार जलाउन सकिदैन,’ उनले भनिन्, ‘यस्ता गतिबिधि रोकिनु पर्छ।’ 

यसैगरी प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले मन्त्रालयमै पत्रकारलाई बोलाएर पत्रिका जलाएको घटनाको भत्सना गरेका छन्। नागरिक दैनिक पत्रिकाले समाजका मुद्दाहरु उठाएर ठुलो योग्दान गरेको उल्लेख गर्दै उदण्ड समूहबाट भएकाे पत्रिका जलाउने कामले दुःखीत तुल्याएको उनले बताए। प्रदेश सरकार मिडिया र पत्रकारको सुरक्षाको ग्यारेन्टीका लागी प्रतिवद्ध रहेको उनको भनाई छ । 

यसैगरी प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले पत्रिका जलाउने कार्यको घोर भत्सना गरेका छन्। पत्रिका जलाउने कार्य लोकतन्त्र बिरोधी र अधिनायक वादी शैली भएको उनको टिप्पणी छ। पत्रिका जलाउनेलाई पक्राउ गरेर कारवाही नगरिएकोमा उनले आपत्ती जनाए। बनमाफिया र भूमाफियाको प्रभावमा परेर जंगलमा राजधानी सार्ने अनि समाचार लेख्यो भनेर पत्रिका जलाउने हर्कत निन्दनिय रहेको उनले बताए

राजधानीका नाममा बन फडानी गरेर र जमिनको दलाली गरेर अर्बौ रकम कमाउने माफियाहरुको चलखेलले नै जंगलमा राजधानी सारिएको र सत्यकुरा पत्रिकाले लेखेपछि आत्तियर पत्रिका जलाउने घृणित काममा गरेकाे नागरिक समाजका हरि रेग्मीले बताए। उनले पत्रिका जलाउनेहरुलाई कडा कारवाहीको माग समेत गरे। लोकतन्त्रमा पत्रिका जलाउने भन्दा घृणित कार्य अरु केही हुन नसक्ने भन्दै स्थानीय व्यवसायी कृष्ण महराले विरोध जनाएका छन्। 

पत्रिका जलाउने पक्राउ परेनन्
पत्रिका जलाउनेलाई प्रहरीले पक्राउ गर्नं सकेको छैन। प्रदेश ७ का प्रहरी प्रमुख डीआईजी सुरज केसीले पत्रिका जलाउनेको पत्ता लागिसकेको र पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए। ‘पक्राउ गर्न प्रहरी परिचालन गरेको छुँ, फरार भएकाले पक्राउ परेका छैनन्’, उनले भने। 

यसैगरी कैलालीका प्रहरी उपरिक्षक बिनोद घिमिरेले पत्रिका जलाउनमा ५ जनाको संलग्नता रहेको र सबैको पहिचान भइसकेको बताएका छन। उनले पाँचै जनालाई पक्राउ गरेपछि मात्र नाम सार्वजनिक गरिने बताए। 

प्रकाशित: १८ आश्विन २०७५ ०७:१४ बिहीबार

धनगढी पत्रिकामा_अागजनी