राजनीति

प्रदेश १ : राजधानी सार्ने चलखेलविरुद्ध आन्दोलनको तयारी

विराटनगर– विराटनगरबाट प्रदेशको राजधानी सार्ने चलखेल सुरू भएको भन्दै विराटनगरमा आन्दोलनको तयारी सुरू भएको छ। मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको अगुवाईमा राजधानी सार्ने चलखेल विरुद्ध आन्दोलनको तयारी सुरू भएको हो। 

आइतबार विराटनगरमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा सर्वपक्षीय छलफल आयोजना गरेका छन्। छलफलमा सहभागिहरूले विराटनगरलाई स्थायी राजधानी बनाउने विषयमा दबाब सिर्जना गर्न तत्कालै आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने धारणा राखेका थिए। उनिहरूले विराटनगरलाई राजधानी घोषणा गरेर कार्यपालिका विराटनगरमा राख्ने व्यवस्थापिका इटहरी र मन्त्रालयहरूसमेत विराटनगर बाहिर राख्न खोज्नु विराटनगरबाट राजधानी सार्ने षडयन्त्र भएको बताए। प्रदेश १ का  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता केदार कार्कीले विराटनगरबाट प्रदेशको राजधानी सार्न चलखेल सुरू भइसकेकाले सदन र सडक दुबै स्थानबाट आन्दोलन चर्काउनुको विकल्प नभएको बताए। उनले विराटनगरबाट राजधानी सार्ने षडयन्त्र विरुद्ध सदनमा खरो रुपमा उत्रन आफूहरू तयार रहेको स्पष्ट पारे। ‘हामी सदनमा संघर्ष थाल्छौं’ उनले भने, ‘तपाईहरू सडक तताउन थाल्नुस्।’ चाडबाडको मुखमा आन्दोलन गर्नुपर्ने स्थिति  प्रदेश सरकारले सिर्जना गरेर राम्रो नगरेको कार्कीले बताए। उनले विराटनगरबाट राजधानी सारेर प्रदेश १ बाट मधेसलाई अलग गराउने चाहनेहरूलाई  सरकारले नै सहयोग गरिरहेको आरोप पनि लगाए। उनले भने, ‘विराटनगरबाट राजधानी सारेर प्रदेश सरकारले प्रदेश १ बाट मधेसलाई अलग गराउन चाहनेहरूलाई सहयोग  गरिरहेको छ।’ विराटनगर पौराणीक, ऐतिहासिक आधारमा मात्रै नभई सामाजिक सद्भावका आधारमा पनि प्रदेशको सबैभन्दा महत्वपूर्ण स्थल भएको कार्कीले बताए। उनले विराटनगरको संवेदनशीलतालाई  नबुझे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिए। 

विराटनगर महानगरपालिकाकी उप–प्रमुख इन्दिरा कार्कीले विराटनगरलाई स्थायी राजधानी बनाउन महानगरपालिका र यहाँका जनप्रतिनिधि  जस्तोसुकै योगदान गर्न पनि तयार रहेको बताइन्। ‘विराटनगरलाई स्थायी राजधानी बनाउन जस्तो सुकै आन्दोलन गर्न र मूल्य चुकाउन पनि हामी तयार छौं’ उनले भनिन्। प्राध्यापक भेषप्रसाद धमलाले राजधानीको विषयमा विवाद झिकेर संघीयतालाई नै धरापमा पार्ने खतरनाक खेल हुन लागेको बताए। नेपालको राजनीतिक परिवर्तनको केन्द्र, औद्योगिक विकासको उद्गम स्थलका रुपमा विराटनगर रहेको  भन्दै विराटनगरको गौरव, इतिहास र गरिमामा दख्खल पार्ने प्रयास कुनै पनि हालतमा  स्वीकार्य नहुने धमलाले स्पष्ट पारे। प्राध्यापक उद्धव पोखरेलले राजधानीको विषयमा विवाद झिकेर प्रदेश सरकार उल्टो दिशामा हिड्न खोजेको आरोप लगाए। उनले भने, ‘पूर्वको प्रमुख प्रशासनिक स्थलका रुपमा रहेको र पूर्वका सबै  जिल्लालाई समेटेर अघिबढ्न सक्ने क्षमता भएको  विराटनगरलाई राजधानी बनाउने विषयमा विवाद झिकेर सरकार उल्टो दिशामा हिड्न खोजीरहेको छ।’

प्रकाशित: १४ आश्विन २०७५ १२:२६ आइतबार

विराटनगर प्रदेश_राजधानी आन्दोलन