राजनीति

काम नगर्ने पप्पुलाई सरकारकै संरक्षण

गोरखाको गण्डकी गाउँपालिका चितवनको इच्छाकामना गाउँपालिका जोड्न त्रिशूलि नदीमा निर्माणाधीन पुल। तस्बिर : नागरिक

गोरखा - गत माघमा सिध्याउनुपर्ने त्रिशूली नदीमाथिको पक्की पुल ३० प्रतिशत मात्रै निर्माण गरेर अलपत्र छाड्ने पप्पु कन्ट्रक्सनलाई सडक विभाग र आयोजनाले ठेक्का लम्ब्याउन नयाँ जुक्ति सिकाएका छन्। ठेकेदार कम्पनीले पुल निर्माणका लागि नदीपारि सामग्री लैजान समस्या भएको बताएपछि पुल महाशाखाले बेलिब्रिज बनाइदिन लागेको हो। पृथ्वी राजमार्गको दारेचोकबाट गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमा निर्माणाधीन उक्त पुल गत माघमा सम्पन्न हुने सम्झौता भएको थियो।

समयमै काम नसिध्याउने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्नुको सट्टा सडक डिभिजनअन्तर्गतको पुल महाशाखाले बेलिब्रिज बनाएर आयोजनाको म्याद थप्न लागेको हो। एघार किलो–छेवेटार–भालुस्वाँरा–बारपाक सडक आयोजनाका प्रमुख अमृतमणि रिमालले भने, ‘ठेकेदारले अब एक वर्षभित्र काम सिध्याउँछु भनेकाले बेलिब्रिज बनाइदिन लागेका हौं ।’ ठेकेदारले बेलिब्रिज नभए काम गर्न नसक्ने जबाफ दिएको उनले बताए। उनले भने, ‘काम नहुनु भन्दा पुल महाशाखाको बेलिब्रिज ल्याएर हालिदिँदा काम गर्छ कि भनेका हौं, ठेक्काको समय थपिने पक्का छ।’

समयमै काम नसिध्याउने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्नुको सट्टा सडक डिभिजनअन्तर्गतको पुल महाशाखाले बेलिब्रिज बनाएर आयोजनाको म्याद थप्न लागेको हो।

२०७१ सालमा निर्माण सुरु भएको पुल सम्झौताको समय सकिएको सात महिनापछि बेलिब्रिज नभएका कारण निर्माण गर्न नसकेको भन्ने ठेकेदारको जबाफलाई आधार बनाएर २७ लाख रुपैयाँमा बेलिब्रिज निर्माण गर्ने तयारी भएको हो।

पुल मशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले निर्माणस्थलमै आएर बेलिब्रिज बनाइदिने घोषणा गरेका छन्। पुल निर्माणस्थलमा सोमबार पुगेका उनले स्थानीय जनप्रतिनिधि, ठेकेदारका इन्जिनियर, आयोजनाका प्रतिनिधिसँग महाशाखाले बेलिब्रिज बनाइदिने बताए।

‘समयमै काम नगर्ने, अहिले आएर बहाना बनाउँदै बेलिब्रिज राखिदिने कुरा भएको छ’, गण्डकी गाउँपालिकाका प्रमुख होमबहादुर रानाले भने, ‘काम छिटो गर्छु भनेका छन् तर यतिका वर्ष भएन अहिले कसरी पत्याउनु?’ पप्पु कन्ट्रक्सनले जिम्मा लिएको पुल समयमै नसकिएको भन्दै सडक आयोजना, जिल्ला प्रशासन कार्यालयले यसअघि पनि पटक–पटक पत्राचार गरेको थियो।

२०७१ पुस २६ गते गण्डकी गाउँपालिकाको मकैसिङ र चितवनको इच्छाकामना गाउँपालिकाको दारेचोक जोड्ने त्रिशूलि नदीमाथिको पुल शिलान्यास भएको थियो। पुल निर्माण समयमै सकिएला र सजिलो होला भन्ने आसमा बसेको चेपाङ समुदाय अहिले पनि पुलबाट आउजाउ गर्न, निर्माण सामग्री ढुवानी गर्न, उत्पादित तरकारी र फलफूल बोकेरै बजार पु¥याउन बाध्य छन्। उक्त पुल निर्माण भएपछि चेपाङ समुदायको बसोबास रहेको भुम्लीचोक, मकैसिङ, ताङ्लीचोक पृथ्वीराजमार्गसँग जोडिनेछ। काठमाडौंबाट करिब ९५ किलोमिटरको दुरीमा रहेर पनि दुर्गम बनेको गोरखाको चेपाङ बस्तीमा पक्की पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १७ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको हो। उक्त पुल २०७४ माघमा निर्माण पूरा हुने ठेक्का सम्झौतामा उल्लेख छ।

प्रकाशित: ४ आश्विन २०७५ ०१:१५ बिहीबार

पप्पु_कन्ट्रक्सन सरकारकै_संरक्षण