राजनीति

स्वास्थ्य परामर्श समिति गठन

सुर्खेत - कर्णालीको समग्र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कर्णाली प्रदेश सरकारले सात सदस्यीय स्वास्थ्य परामर्श समिति गठन गरेको छ। मन्त्रिपरिषद बैठकले शिक्षण अस्पताल काठमाडौंमा कार्यरत डा. भगवान कोइरालाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा डा. अर्जुन कार्की, डा. सेनेन्द्रराज उप्रेती, डा. सुरेश तिवारी,  डा. डम्वर खड्का, डा. मंगल रावल र डा. तीर्थ थापा सदस्य रहेका छन्।

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त डाक्टरहरुको समूहले कर्णालीको समग्र स्वास्थ्यको अवस्था अध्ययन गरेर सुधारका कामहरु गर्नेछ’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘यसका साथै मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्तरबृद्धि र शिक्षण अस्पताल सञ्चालनको अध्ययन पनि यही समितिले गर्छ।’

मन्त्री रावलका अनुसार सबै चिकित्सकहरुले नजिकबाट कर्णालीको सेवा गर्ने इच्छा राखेकाले पनि समिति गठन गरिएको हाे। समितिले कर्णालीको स्वास्थ्य क्षेत्रको नीति निर्माणमा समेत सघाउने छ। ‘यहाँको आवश्यकताको पहिचान गरेर सोही अनुसारको स्वास्थ्य नीति बनाउनका लागि पनि समितिले काम गर्छ’ मन्त्री रावलले भने, ‘केही समयभित्रै यसको प्रभावकारिता देखिने छ।’

मन्त्रिपरिषद बैठकले सुर्खेतको सिम्ता गाउँपालिकाको केन्द्र विवाद निरुपण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गर्नुका साथै जुम्लाको हिमा गाउँपालिकाको केन्द्र विवाद समस्या समाधानका लागि मन्त्रिपरिषदकाे राजनीतिक समितिमा पठाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए। यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक सेवा प्रशारण विधेयकको मस्यौदालाई सैद्धान्तिक सहमति पनि बैठकले प्रदान गरेको छ। बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको सार्वजनिक निर्माण र परामर्श सम्वन्धी काम संक्षिप्त कार्यविधिबाट गर्ने प्रस्ताव समेत पारित गरेको छ। यस्तै बैठकले प्रदेशका लागि स्वीकृत दरबन्दीका कर्मचारी तत्काल खटाउन नेपाल सरकारलाई अनुरोध गरेको छ।

प्रकाशित: ३१ भाद्र २०७५ १५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App