राजनीति

थप अनुसन्धानका लागि डिआइजीको संयोजकत्वमा अर्काे समिति गठन

काठमाडौं– प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धान तथा छानविन गर्न अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक (डिआइजी) धिरु बस्न्यातको संयोजकत्वमा एक समिति बनाएको छ। यसअघि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा बनेको समितिलाई समेत गाभेर डिआइजीको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो।

गृह मन्त्रालयबाट प्रहरीमाथि अनुसन्धान गर्न समिति बनाएर घटनाको समेत अनुसन्धान गर्ने जिम्मेवारी पाएपनि सहसचिव हरिप्रसाद मैनालीको उच्चस्तरीय छानविन समितिले प्रहरीको लापरवाहीबारे प्रतिवेदन बुझाएको एक दिनपछि समग्र घट्नाको अनुसन्धान गर्न डिआइजीको संयोजकत्वमा समिति बनेको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार सो समितिले घट्ना र प्रहरी दुवैको अनुसन्धान गर्नेछ। साथै कञ्चनपुरमा सो घट्नासँग सम्बन्धित सबै प्रहरीलाई काठमाडौ बोलाएर सोधपुछ थालिएको छ।

प्रकाशित: ३१ भाद्र २०७५ ११:०१ आइतबार

निर्मला_पन्त छानविन_समिति प्रहरी_प्रधान_कार्यालय