राजनीति

‘अनुसन्धानमा प्रहरीको लापरबाही’

उल्टाखाम (कञ्चनपुर) - १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको निष्कर्ष निकालेको छ। निर्मलाका हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयले आन्दोलन चर्काउँदा अवस्था हिंसात्मक बनेपछि गत भदौ ८ गते काम सुरु गर्ने गरी गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। छानबिन समितिलाई १५ दिन म्याद दिएको थियो। समितिले छानबिन सकेर प्रतिवेदन लेख्ने काम गरिरहेको संयोजक मैनालीले बताए।

छानबिनका क्रममा विभिन्न व्यक्तिसँग सोधपुछ गरिएको उनले बताए। समितिले पनि छानबिनका क्रममा निर्मला हत्याको दोषी पत्ता लगाउन सकेको छैन। संयोजक मैनाली हत्याको दोषी पत्ता लागउने क्षेत्राधिकार समितिको नरहेको बताउँछन्।

‘निर्मलाको हत्या कसले गरेको भनेर पत्ता लगाउने यो समितिको जिम्मेवारी होइन, त्यसबारे प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ’, उनले भने। निर्मला हत्या घटनामा प्रहरीको अनुसन्धान कस्तो भयो, आन्दोलन भएर मान्छे मर्ने अवस्था किन आयो लगायतको कुराको छानबिन समितिले गरेको उनको भनाइ छ। उनले निर्मलाको हत्या अनुसन्धानमा सुरुमा प्रहरीबाट लापरबाही भएको बताए। ‘छानबिन गर्दा सुरुमा प्रहरी अनुुसन्धानमा लापरबाही भएको पाइएको छ’, उनले भने। प्रहरीको लापरबाहीले घटनास्थलमा प्रमाण नष्ट भएको समितिको निष्कर्ष छ।

प्रहरीले गोली चलाउनुपर्ने अवस्था थिएन
मानसिक सन्तुलन गुमाएका भीमदत्त नगरपालिका १९ का दिलीपसिंह बिष्टलाई निर्मलाको हत्यारा भनेर प्रहरीले सार्वजनिक गरेपछि निर्दोषलाई दोषी देखाएको भन्दै स्थानीयले भदौ ५ गतेदेखि आन्दोलन चर्काएका थिए। आन्दोलनका क्रममा भदौ ७ गते प्रहरीले गोली चलाउँदा केही व्यक्ति घाइते भएका थिए। आन्दोलन चर्केपछि गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी डिल्ली बिष्ट, डिएसपी ज्ञानबहादुर सेठीलाई तानेर प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, एसपी कुवेर कडायत, डिएसपी कृष्ण ओझालाई खटायो। भदौ ८ गते नयाँ टोली आएपछि पनि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय सनी खुनाको ज्यान गएको थियो।

छानबिन समितिले भदौ ७ र भदौ ८ गते प्रहरीले गोली चलाउनु गलत रहेको निष्कर्ष निकालेको छ। संयोजक मैनालीले भने, ‘छानबिन गर्दा प्रहरीले गोली चलाउनुपर्ने अवस्था नरहेको पाइयो।’ कति मान्छे प्रदर्शनमा आउँदै छन् भनेर सूचना संकलन गर्ने र त्यहीअनुसारको तयारी गरेर आन्दोलन नियन्त्रण गर्ने प्रयास नभएको उनले बताए। ‘लाठी चार्ज, अश्रुग्यास र हवाईफायर गरेर भीडलाई भगाउन सकिन्थ्यो, यी अनेक उपाय अवलम्बन नगरी प्रहरीले गोली चलाएको पाइयो’, उनले भने। प्रतिवेदन छिट्टै गृहमन्त्रीलाई बुझाइने उनले बताए।

प्रहरी भित्रै अनुसन्धान गर्न माग
छोरीको हत्यामा संलग्न दोषीलाई प्रहरीले नै बचाउन खोजेको भन्दै निर्मलाका आमा दुर्गादेवी पन्तले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसमक्ष गुनासो गरेकी छन्। भीमदत्त पन्त नगरपालिका २ उल्टाखामस्थित पन्तको घरमा पुगेका आइजिपी खनालसमक्ष उनले प्रहरीभित्र अनुसन्धान गर्न माग गरेकी थिइन्। आईजिपी खनालले दोषी पत्ता लगाएर न्याय दिलाउने आश्वासन दिएको उनले बताइन्। दुर्गादेवीले भनिन्, ‘अहिलेसम्म सबैले आश्वासन मात्र दिएका छन् । दोषी पत्ता लगाएका छैनन्, म त हैरान भइसकें। मैले उहाँलाई आश्वासन होइन, दोषी पत्ता लगाएर न्याय दिनुहोस् भनें।’

कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले करिब डेढ सय जनासँग सोधपुछ गरे पनि अहिलेसम्म कुनै तथ्य फेला पर्न नसकेको बताएका छन्। सुरुदेखि नै घटनास्थलमा धेरै प्रमाण नष्ट हँुदा अनुसन्धान जटिल बनेको उनले बताए।

प्रकाशित: २६ भाद्र २०७५ ००:४६ मंगलबार

निर्मला_पन्त बलात्कार हत्या अनुसन्धान