राजनीति

सबै पाहुनालाई एउटै तहको सुरक्षा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन आएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल। तस्बीर : रासस

काठमाडौं - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)सम्मेलनमा विदेशी पाहुना सुरक्षामा सरकारले एकै प्रकारको सुरक्षा नीति अपनाएको छ। यसपटक भारतीय प्रधामन्त्री नरेन्द्र मोदीदेखि म्यान्मारका राष्ट्रपति विन मिन्टको सुरक्षामा सरकारले एकै प्रकारको सुरक्षा व्यवस्था गरेको हो।

यसबाहेक पाहुनालाई हुनसक्ने सुरक्षा चुनौती विश्लेषणअनुसारको सुरक्षा व्यवस्था गरिएको छ। भारतीय प्रधामन्त्री मोदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीले विशेष ध्यान दिनेबाहेक नेपाल सरकारले उनीहरूको सवारी र सुरक्षामा एकै प्रकारको नीति अबलम्बन गरेको हो। गृहमन्त्रालयले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालमा रहँदा उच्च (जेड) तहको सुरक्षा दिइने भएको छ। मोदीको नेपालमा रहँदा पाँच प्रकारका सुरक्षा चुनौती औंल्याउँदै सरकारले यो तहको सुरक्षा दिने तयारी गरेको हो। ‘सुरक्षा चुनौती’ विश्लेषणका आधारमा मोदीका लागि यसप्रकारको सुरक्षा नीति अपनाइएको स्रोतले बताएको छ। अन्य सहभागी विशिष्ट पाहुनाको हकमा पनि जेड तहको सुरक्षा दिनेछ। जेड तहको सुरक्षा सर्वोच्च सुरक्षा बिन्दु हो।

विश्वमा यस्तो सुरक्षा भारतीय प्रधानमन्त्री, चिनियाँ राष्ट्रपति, अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीलाई दिइने गरिएको छ। तर, नेपालले यसपटक सुरक्षामा कसैको पनि आत्मसम्मानमा चोट नपुगोस् भनेर एकै तहको सुरक्षा व्यवस्था गरिएको हो।

विश्वमा यस्तो सुरक्षा भारतीय प्रधानमन्त्री, चिनियाँ राष्ट्रपति, अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीलाई दिइने गरिएको छ। तर नेपालले यसपटक सुरक्षामा कसैको पनि आत्मसम्मानमा चोट नपुगोस् भनेर एकै तहको सुरक्षा व्यवस्था गरेको हो। भारतीय प्रधामन्त्री बंगलादेशकी प्रधामन्त्री शेख हसिना वाजेद, श्रीलंका राष्ट्रपति मैत्रीपाला सिरीसेना, म्यान्मारका राष्ट्रपति विन मिन्टको सुरक्षा थे्रटलाई ध्यानमा राखेर सरकारले सबै सहभागी पाहुनालाई एकै प्रकारको सुरक्षा व्यवस्था गरेको गृहमन्त्रालयले जनाएको छ। ‘एकै प्रकारको सुरक्षा प्रदान गरिनु भनेको सम्मान हो भने सुरक्षा जोखिम मूल्यांकनका आधारमा अपनाइने सुरक्षा भने बेग्लाबेग्लै छ,’ सुरक्षा स्रोतले भन्यो।

‘सहभागी पाहुनाको सुरक्षामा कुनै पनि प्रकारको कमी हुनेछैन। हाम्रा पाहुनाको सुरक्षा हामी आफंैले गर्ने हो। विशिष्टि व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार सबै सुरक्षा निकायलाई परिचालन गरिसकिएको छ,’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले भने। सुरक्षाका दृष्टिले संवेदनशील रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री वाजेद, म्यानमान्मारका राष्ट्रपति मिन्ट र श्रीलंकाका राष्ट्रपति सिरीसेनालाई काठमाडौंमा एउटै तहको सुरक्षा प्रबन्ध गरिनुपर्ने देखिएपछि सबैलाई एकै प्रकारको सम्मानजनक सुरक्षा व्यवस्था गर्न लागिएको हो।

‘सम्मानजनक सुरक्षा व्यवस्थामा राष्ट्रपति र प्रधामन्त्रीबीच फरक हुने भएकाले ‘थ्रेट एनलाइसिस’ सुरक्षा व्यवस्था भने फरक फरक रहेको छ’, गृहमन्त्रालय स्रोतले भन्यो। कार्यक्रमस्थलको सुरक्षामा आधुनिक हतियार बोकेका सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिनेछन्। भारतीय प्रधामन्त्री मोदी निकट रहेर सुरक्षा प्रदान गर्न १३ भारतीय सुरक्षाकर्मी यसअघि नै काठमाडौं आएका छन् भने केही बिहीबार मोदीसँगै आउँदै छन्। तर उनीहरू नेपाली सेनाको समन्वय र संयोजनमा खटिनेछन्। बंगलादेशका प्रधानमन्त्री हसिना पनि आफ्नै विशेष सरक्षा बल (एसएसएफ) को कमाण्डो दस्तासहित बिहीबार बिहान नै काठमाडौं आउँदै छन्। बंगलादेशका प्रधानमन्त्री वाजेदसँगै उनको क्लोज प्रोक्टेसनका लागि पनि सरक्षाकर्मी बिहीबार नेपाल आउँदैछन् । सम्मेलनमा सहभागी पाहुनाका लागि विमानस्थल, तिनकुने, नयाँ बानेश्वर, थापाथली, कालिमाटी हुँदै होटल सोल्टीसम्म कारगेडसहितको सवारी चलाइनेछ। यसको विकल्पमा विमानस्थलबाट चक्रपथ हुँदै कलंकी र त्यहाँबाट सोल्टीमोड भएर होटलसम्म पु-याउने व्यवस्था गरिएको छ । विशिष्ट पाहुनाका लागि ७ मोटरसाइकल, जमार एम्बुलेन्स, सुरक्षा निकायको गाडीसहित १८ वटा सवारीसाधान गुड्नेछन् । त्यसमा सवारीमन्त्री र उनको अगुवापछुवा छट्टै गुड्नेछन्।

बिमस्टेक सुरक्षा नेतृत्व, परिचालन र अनुगमनमा गृहमन्त्री, गृहसचिव र शान्ति–सुरक्षा महाशाखा प्रमुखको नेतृत्वमा छुट्टाछुट्टै समिति बनाइएको छ भने प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज न्यौपानेको संयोजकत्वमा सुरक्षा समिति बनाएको छ । नेपाली सेनाले पनि बलाधिकृत रथीको संयोजकत्वमा सुरक्षाको प्रबन्ध गराएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भिभिआइपीको व्यक्तिगत सुरक्षा र संवेदनशील क्षेत्रमा खटिने तालिमप्राप्त तथा आधुनिक हतियार चलाउनसक्ने दक्ष जनशक्ति भए पनि सरकारले कार्यविधि बनाएर सेनालाई जिम्मेवारी दिएको हो। सोहीअनुसार बनेको कार्ययोजनाअन्र्तगत महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले ट्राफिक व्यवस्थापनको जिम्मेवारी बहन गरेका छन्। सुरक्षा स्रोतका अनुसार बिम्स्टेक सम्मेलनको सुरक्षाका लागि करिब ३० हजार सुरक्षाकर्मी हुने भएका छन्। तीनमा सेनाबाट १२ हजार र अन्य नेपाल प्रहरीबाट करिब १३ हजार ३ सय र सशस्त्रबाट करिब ५ हजार जनशक्ति परिचालन हुने गृहमन्त्रालयले जनाएको छ।

प्रहरीमा भिभिआइपीको सुरक्षाका लागि गठित सुरक्षा निर्देशनालयअन्तर्गत १ सय ५० भन्दा बढी दक्ष जनशक्ति पनि खटिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिमस्टेकमा सहभागी हुने मुख्य अतिथि र फस्र्टलेडीको व्यक्तिगत सुरक्षामा सेनाको विशेष सुरक्षा बलका सैन्य अधिकारी खटिनेछन् । कारकेड सुरक्षा, आवासगृह, कार्यक्रमस्थल, विमानस्थल, आवागमन क्षेत्र र संवेदनशील क्षेत्रको सुरक्षामा सेना नै रहनेछ। आवासको बाहिरी तथा सडक र उच्चस्थानको सुरक्षाका लागि नेपाल प्रहरीले जिम्मेवारी पाएको छ। विमानस्थलदेखि कार्यक्रमस्थल, अतिथि आवासगृह सम्मेलन क्रममा आवागमन क्षेत्रको सुरक्षाको पहिलो घेरामा नेपाली सेना खटिने छ। भिभिआइपी सवार हुने सवारीसाधनका चालकसमेत सैनिक नै हुनेछन्। सेनापछिको दोस्रो घेरामा सादा पोसाकका प्रहरी, तेस्रोमा पोसाकधारी प्रहरी र सशस्त्र, चौथो घेरामा सादा पोसाकसँगै स्थानीय प्रहरी र सशस्त्र परिचालन हुनेछन्। कारकेडमा भिभिआइपी चढ्ने सवारीका अगाडि र पछाडिसमेत सेनाको विशेष सुरक्षा बल खटिनेछ। क्लोज प्रोटेक्सनका लागि आएका पाहुना सुरक्षा अधिकारीले समेत नेपाली सेनासँगको समन्वयमा सुरक्षा दिनेछन्।

प्रकाशित: १४ भाद्र २०७५ ०२:१६ बिहीबार

बिमस्टेक सुरक्षा_चुनाैती_विश्लेषण