राजनीति

दोरम्बा घटनाका पीडित परिवारको प्रश्न : हामीले कहिले न्याय पाउँछौं ?

रामेछाप- सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीको शान्ति वार्ता चलिरहेको समयमा २०६० साउन ३२ गते भएको दोरम्बा हत्याकाण्ड पश्चात मुलुकमा ११ वटा सरकारका नेतृत्व परिवर्तन भए। त्यसमा पनि ६ पटक त कम्युनिष्टकै नेतृत्वमा सरकार बन्यो। तर १५ बर्षदेखि आँखा रसाउँदै बसेका पीडितहरुलाई राज्यले अझै पनि सम्बोधन गर्न सकेको छैन।

सानै खुशीको आभास गर्न नसकेका पीडितहरुले यतिबेला आशा राख्न समेत छाडि सकेका छन। न्यायको आशा राख्दै १५ बर्ष बितेको बताउँछिन् दोरम्बा हत्या गरिएका त्यसबेलाका जनसरकार प्रमुख बाबुराम तमाङकी पत्नी कान्छीमाया तमाङ। 'अब त आशा पनि मरिसक्यो के आशा गर्ने', उनले भनिन्, 'अहिलेसम्म केही भएन। आफ्नो दु:ख आफैसँगै छ। श्रीमान त गुमाएको पीडा त एकातिर छँदै छ तर पनि राज्यले पीडित परिवारलाई सम्बोधन गर्न नसकेको देख्दा झन पीडा हुने रहेछ।'

अब आफ्नै सरकार आएको छ केही गर्ला कि भन्ने आशा कतै कतैबाट पलाए पनि खै के होला र भन्ने लाग्ने गरेको तामाङले बताइन्। त्यो बेलामा अभिभावक गुमाएका बालबच्चाहरु पनि यतिबेला हुर्किएर आफै गरेर खान सक्ने भइसके। दु:खका साथ हुर्किए। उचित शिक्षादिक्षाका लागि राज्यबाट केही अवसर त पाएनन तर अवसरमा पुग्न सक्ने योग्यता बनाउन नसक्दा पीडितहरु झन पीडामा रहनु परेको अर्की पिडित विष्णुमाया तमाङ बताउँछिन्।

दोरम्बा घटनामा आफ्नो बाबु गुमाएका कपिलराज गिरीले दोरम्बा घटना विशेष चर्चाको घटना र फरक प्रकृतिको घटना भएता पनि उक्त घटनालाई अरु घटना सरह नै राख्नु दुखद भएको बताउँछन्। राज्यले १० लाख उपलब्ध गराएर पीडितका लागि अरु केही नगर्दा आफनो बाबुको रगत बेचेर पैसा लिए जतिकै भएको उनले बताए। गिरीले थप्दै भने 'घटनामा परि मृत्यु भएका शहिदहरुको सम्झनामा बनेको पार्क अपूरो रहनु र शहिदहरुको नाम शालिक बनाउने भनिएता पनि त्यो काम समेत नहुँदा आफूहरु समेत अपहेलित भएको महशुस भएको छ।'

 बाबु गुमाएका अर्का पीडित सागर तमाङले राज्यले अहिले सम्म दिएको १० लाख रकमले पीडितको चाहना पूरा नहुने बताए।

युद्ध विरामकै अवस्थामा दोरम्बामा २१ को मृत्यु

१५ बर्ष अघि २०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालिन विद्रोही पक्षले युद्ध विरामको घोषणा गरेकै अवस्थामा सरकार र माओवादी बीच वार्ता भइरहदा दोरम्बाका शिक्षक युवराज मोक्तानको घरमा पार्टीको बैठक र बैबाहिक कार्यक्रममा जम्मा भएका जिल्ला स्तरिय नेता तथा कार्यकर्तालाई मेजर राममणि पोखरेलको नेतृत्वमा रहेको रहेको सेनाको गस्ती टोलीले घर घेरा हाली नियन्त्रण लिएको थियो। सेनाले नियन्त्रणमा लिएका नेता तथा कार्यकर्ताहरुले हात बाध्नुका साथै आखाँमा पट्टी समेत बाधेर दोरम्बा बजार हुँदै डडुवाका डाँडा कटेरीमा लगेर हत्या गरेको थियो। २ जनाको नियन्त्रणमा लिएको घरमा हत्या गरेको थियो भने १९ जनालाइ भने डाडा कटेरी पुर्याएर गोली हानी हत्या गरेको थियो। दोरम्बा घटना पछि शान्तिवार्ता भंग भएको थियो।

 

प्रकाशित: ३१ श्रावण २०७५ १३:४१ बिहीबार

दोरम्बा_हत्याकाण्ड पीडित_परिवार माओवादी